चितवन ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म प्रभावित क्षेत्रका नदी तथा तटीय क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाली सेनाले व्यापक रूपमा फौज परिचालन गरेको छ ।
बाढीमा परी बेपत्ता भएका व्यक्तिका शव त्रिशूली र नारायणी नदी हुँदै चितवनका विभिन्न नदी तटीय क्षेत्रमा समेत फेला पर्न थालेपछि खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनाले आजदेखि ड्रोन र रबरबोटसहितको विशेष टोली परिचालन गरेको हो ।
नेपाली सेनाका अनुसार शव खोजी, उद्धार तथा व्यवस्थापनका लागि ४३६ जनाको संयुक्त फौज परिचालन गरिएको छ । नदीको बहाव, तटीय क्षेत्रमा जम्मा भएको माटो तथा झाडी र कठिन भौगोलिक अवस्थाका कारण शव खोजी कार्य चुनौतीपूर्ण बनेपछि जनशक्तिसँगै आधुनिक उपकरणको समेत प्रयोग बढाइएको हो ।
विशेषगरी त्रिशूली नदीको तटीय क्षेत्रदेखि नारायणी नदी आसपाससम्म सम्भावित स्थानमा खोजीलाई तीव्र बनाइएको छ । नदीमा बगेर आएका शव तथा अन्य मानवीय अवशेष हुनसक्ने स्थान पहिचान गर्न ड्रोनको प्रयोग गरिने सेनाले जनाएको छ । त्यस्तै नदीको पानीभित्र तथा नदी किनारका जोखिमयुक्त क्षेत्रमा खोजी गर्न रबरबोट प्रयोग गरिनेछ ।
भोटेकोशीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य विभिन्न जिल्लामा जारी छ । बाढीको पानीसँगै शवहरू नदीको बहावअनुसार तल्लो तटीय क्षेत्रमा बगेर आउने क्रम नरोकिएपछि चितवनमा समेत शव खोजी तथा व्यवस्थापनको काम थप संवेदनशील बनेको छ ।
चितवनका नदी तटीय क्षेत्र तथा सामुदायिक वन आसपासमा पछिल्ला दिनमा बेपत्ता व्यक्तिका शव फेला पर्ने क्रम बढेको छ । फेला परेका शवमध्ये कतिपयको तत्काल पहिचान हुन नसकेपछि सुरक्षाकर्मीको समन्वयमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने तथा सम्भावित पहिचानका लागि आवश्यक विवरण र नमुना सुरक्षित राख्ने कामसमेत भइरहेको छ ।
शवको संख्या बढ्दै गएपछि व्यवस्थापनमा चुनौती थपिएको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकाय तथा स्थानीय तहका जनशक्ति परिचालन हुँदै आएका छन् । संयुक्त रूपमा खोजी तथा व्यवस्थापनको काम अघि बढाइएपछि नदीको तटीय क्षेत्रमा सम्भावित शव रहेका स्थान पहिचान गरी शीघ्र उद्धार तथा व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।
बाढी प्रभावित क्षेत्रबाट बगेर आएका शवको खोजीका क्रममा जोखिमसमेत उच्च रहेकाले सुरक्षाकर्मीले आवश्यक सावधानी अपनाएर काम गरिरहेका छन् । नदीको तीव्र बहाव, पानीको सतहमा आएको उतारचढाव र तटीय क्षेत्रमा बाढीले बनाएको कठिन अवस्थाका कारण सामान्य तरिकाबाट खोजी गर्दा समय बढी लाग्ने भएकाले ड्रोन र रबरबोटको प्रयोगलाई प्राथमिकता दिइएको हो ।
नेपाली सेनाको व्यापक परिचालनसँगै चितवनमा बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा शव व्यवस्थापन कार्य थप व्यवस्थित र तीव्र हुने अपेक्षा गरिएको छ । नदीको बहावसँगै शव अन्य क्षेत्रमा समेत पुग्न सक्ने भएकाले सम्भावित सबै तटीय क्षेत्रमा निगरानी र खोजी बढाइएको सुरक्षा निकायले जनाएको छ ।












प्रतिक्रिया