बैरेनीका बाढी प्रभावितको माग- चामल-दालमोठ होइन, अब खानेपानी चाहियो

0
Shares

धादिङ (गल्छी) .

रसुवाको भोटेकोशी नदीमा हिमपहिरोपछि आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा ठूलो जनधनको क्षति गरायो। बाढीका कारण गल्छी क्षेत्रमा २७९ परिवार विस्थापित भए भने ११४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। दुई वटा पक्की पुल र छ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ। सडक तथा यातायात संरचनामा समेत ठूलो क्षति पुगेपछि बाढी प्रभावित बस्तीमा राहत तथा उद्धार सामग्री पु¥याउनसमेत चुनौती देखिएको थियो।

विपद्पछि प्रभावित क्षेत्रसम्म पुग्ने सडक खुलाउने कामलाई प्राथमिकतामा राखियो। गाउँपालिकाले बाढी प्रभावित परिवारलाई दोस्रो दिन नै प्रतिपरिवार १० हजार रुपियाँका दरले नगद राहत उपलब्ध गरायो। विभिन्न संघसंस्था, राजनीतिक दल, स्थानीय समूह तथा व्यक्तिहरूबाट राहत वितरणको क्रम पनि चल्यो। प्रभावित परिवारका घरघरमा तीन बोरा चामल पुगे। दालमोठ, चिउरा, नुनतेललगायतका खाद्य सामग्री पनि वितरण गरिए। कतिपय परिवारलाई भाँडाकुँडासमेत उपलब्ध गराइएको छ।

तर बाढीपछि जीवन धान्न सबैभन्दा अत्यावश्यक बनेको खानेपानीतर्फ भने पर्याप्त ध्यान पुग्न सकेको छैन। राहतका रूपमा चामल, दालमोठ र चिउरा पाए पनि अहिले बैरेनीका बाढी प्रभावितको एउटै माग छ “हामीलाई खानेपानी चाहियो।”

बाढीले गल्छी ६ बैरेनी बजारलाई समेत नराम्ररी प्रभावित बनाएको छ। बजारका खानेपानीका धारा, पाइप, वितरण लाइन र शौचालयमा क्षति पुगेको छ। बाढीका कारण गत १० गतेदेखि बैरेनी बजारमा खानेपानी आपूर्ति बन्द छ। बजारमा रहेका करिब २५० घरधुरीले प्रयोग गर्दै आएका तीन वटा खानेपानी आयोजनामा क्षति पुगेपछि अहिले बैरेनीमा खानेपानीको हाहाकार भएको छ।

बैरेनी बजार खानेपानी आयोजना, जिन्टेटार डिप बोरिङ र जुडिखोला–बैरेनी बजार खानेपानी आयोजनाबाट स्थानीयले पानी उपभोग गर्दै आएका थिए। यी तीनै प्रणालीमा बाढीले क्षति पुर्याएपछि नियमित पानी आपूर्ति हुन सकेको छैन। बाढी प्रभावित परिवार मात्र होइन, बैरेनी बजारका अधिकांश बासिन्दा नै खानेपानीको अभावमा परेका छन्। पानी खानसमेत नपाउने अवस्था आएपछि स्थानीयवासी छट्पटिन थालेका छन्।

“राहतमा चामल र दालमोठ धेरै आयो, चिउरा पनि आयो। तर अहिले हामीलाई सबैभन्दा बढी चाहिएको पानी हो,” स्थानीयवासी गाेबिन्द पाैडेलकाे भनाइ छ, “खानेपानी नहुँदा चामल भए पनि के गर्ने ?”

खानेपानी मानिसको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। बाढीपछि विस्थापित तथा प्रभावित परिवार अस्थायी आश्रयमा बसिरहेका बेला खानेपानीको अभावले उनीहरूको दैनिकी थप कष्टकर बनेको छ। पिउनका लागि मात्र होइन, खाना पकाउन, शौचालय प्रयोग गर्न, हातमुख धुन तथा सरसफाइका लागि समेत पानी आवश्यक पर्छ। लामो समयसम्म स्वच्छ पानीको व्यवस्था हुन नसकेमा दूषित पानी तथा अस्वच्छ वातावरणका कारण विभिन्न प्रकारका रोग तथा महामारी फैलिन सक्ने जोखिमसमेत बढेको छ।

बाढीले खानेपानीको मूल, पाइपलाइन, धारा तथा वितरण प्रणालीमा क्षति पु¥याएकाले पुरानो प्रणाली तत्काल सञ्चालनमा ल्याउन सहज भने छैन। बैरेनी बजार खानेपानी आयोजनाका अध्यक्ष गोकर्ण दहालका अनुसार खानेपानी आपूर्ति पुनः सञ्चालन गर्न कनेक्सन जोड्ने तथा क्षतिग्रस्त संरचना मर्मत गर्ने काम सुरु गरिएको छ। तर बाढीबाट धेरै ठाउँमा क्षति भएकाले मर्मत तथा पुनःस्थापनामा समस्या भइरहेको उहाँले बताउनुभयो।

“पानी सञ्चालन गर्न कनेक्सन जोड्ने काम सुरु गरेका छौँ। तर बाढीले धेरै ठाउँमा संरचना क्षति भएकाले तत्काल सबै ठाउँमा पानी पु¥याउन समस्या छ,” दहालले बताउनुभयो।

स्थानीय तहले भने खानेपानीको समस्या बाढीपछि नै पहिचान गरेको जनाएको छ। गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारीले बैरेनी क्षेत्रमा खानेपानीका पाइप, धारा तथा वितरण लाइनमा क्षति पुगेको जानकारी तीन दिनअघि नै सम्बन्धित निकायलाई गराइएको बताउनुभयो। खानेपानी पुनः सञ्चालनका लागि तत्काल पहल आवश्यक रहेको उहाँको भनाइ छ।

विपद्का बेला राहतको प्राथमिकता खाद्यान्नमा केन्द्रित हुनु स्वाभाविक भए पनि प्रभावित क्षेत्रमा खानेपानी र सरसफाइलाई बेवास्ता गर्न नहुने स्थानीयको भनाइ छ। राहत सामग्रीको थुप्रो लागे पनि पानीको एउटा बोतलका लागि भौँतारिनुपर्ने अवस्थाले विपद् व्यवस्थापनको प्राथमिकतामाथि नै प्रश्न उठाएको छ।

बाढीपछि जिल्लामा विपद् व्यवस्थापनअन्तर्गत खानेपानी तथा स्वच्छता क्लस्टरसमेत सक्रिय रहेको भए पनि बैरेनी बजारमा देखिएको खानेपानी संकटलाई सम्बोधन गर्न प्रभावकारी पहल भएको देखिएको छैन। प्रभावित क्षेत्रमा तत्काल अस्थायी रूपमा सुरक्षित खानेपानी पुर्याउने, क्षतिग्रस्त पाइपलाइन तथा धाराको मर्मत गर्ने र दीर्घकालीन रूपमा खानेपानी प्रणाली पुनःनिर्माण गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीय नरेश खतिवडाकाे माग छ।

विपद्का बेला राहत भनेको केवल चामल, दालमोठ र चिउरा मात्र होइन। प्रभावित मानिसलाई सुरक्षित पानी उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण राहत हो। बाढीले घरबार गुमाएका मानिसले खाद्यान्नको जोहो केही हदसम्म पाएका छन्, तर पानीको अभावले उनीहरूको दैनिक जीवन नै संकटमा परेको छ।

बैरेनीका प्रभावित परिवार अहिले राहतको अर्को पोको पर्खिरहेका छैनन्। उनीहरूलाई तत्काल चाहिएको छ सफा र सुरक्षित खानेपानी। “चामल–दालमोठ हामीले पायौँ, अब पानी चाहियो,” स्थानीयवासीको यो माग अहिले बैरेनीको साझा आवाज बनेको छ।