हार्दिक फिटनेसको वार्षिकोत्सवमा टेबलटेनिस र पिकलबल


काठमाडौं । 

काठमाडौँको पुल्चोकस्थित हार्दिक फिटनेसले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुल्ला टेबलटेनिस र पहिलो पटक आयोजित पिकलबल प्रतियोगिताका सबै विधाको फाइनल समीकरण पूरा भएको छ । 

नेपालमा भर्खरै भित्रिएको नयाँ खेल पिकलबलतर्फ पुरुष एकलको उपाधिका लागि सुवर्ण शाह र प्रनव खनाल भिड्ने भएका छन् भने पुरुष डबल्सतर्फ लक्ष्यविक्रम शाह र अनिस अधिकारीको जोडीले सुवर्ण शाह र समीर पोखरेलको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी टेबलटेनिसतर्फ पुरुष एकलमा प्रजिल भट्टराई र हिमाल विष्ट तथा महिला एकलमा वियान्का राई र दिया देउला उपाधि नजिक पुगेका छन्। टेबलटेनिसकै भेटरान्स एकलतर्फ भने च्याम्पियन बन्नका लागि चन्दन शाही र ठाकुर थापा आमनेसामने हुनेछन् । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूको बाक्लो उपस्थिति रहेको छ । 

पहिलो पटक आयोजित पिकलबलमा पुरुष एकलतर्फ ३६ जना र डबल्सतर्फ ४६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै, टेबलटेनिसतर्फ ७१ पुरुष, २२ महिला र ४२ भेटरान्स गरी कुल १३५ जना खेलाडी सहभागी छन्। प्रतियोगिताका दुवै खेलका प्रत्येक इभेन्टका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूले जनही पाँच हजार रुपियाँ नगद पुरस्कारका साथै हार्दिक फिटनेसको नि:शुल्क सदस्यता प्राप्त गर्नेछन् । संस्थाका अपरेसन म्यानेजर विपिन महर्जन र सञ्चालक विराज विष्टले ऐतिहासिक रूपमा पिकलबलको सफल आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसपटकको वार्षिकोत्सव विशेष बनेको बताउनुभएको छ ।