सिप्रदी र भोटेकोशी पावरद्वारा विपद् कोषमा ५ करोड १ लाख सहयोग


काठमाडौं।

बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिप्रभ्य समूहअन्तर्गतका सिप्रदी र भोटेकोशी पावर कम्पनीले ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

कम्पनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन्। बाढी प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न सहयोग रकम उद्धार तथा राहत, स्वास्थ्य उपचार र बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनालगायतका क्षेत्रमा उपयोग हुने अपेक्षा गरिएको छ।

आर्थिक सहयोगसँगै सिप्रभ्य समूहले प्रत्यक्ष रूपमा समेत राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। समूहको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित संस्था ‘सिप्रदियन सहायता संस्था’ मार्फत प्रभावित क्षेत्रमा राहत सामग्री वितरण तथा सहयोगका कार्यक्रम अघि बढाइएको हो।

सहायता संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमै पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक खाद्यान्न तथा अन्य आधारभूत सामग्री वितरण गरिरहेका छन्। प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै स्थानीयस्तरमै समन्वय गरेर राहत उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ।

समूहले विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ।

सिप्रभ्य समूहले बाढीबाट प्रभावित परिवारको अवस्था सामान्य बनाउन आवश्यक सहयोग तथा सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।