बा : एक योद्धा’ले पनि सार्‍यो प्रदर्शन मिति, बाढीपीडितलाई २ लाख सहयोग


काठमाडौं ।

प्राकृतिक विपत्तिका कारण देशमा सिर्जिएको दुःखद परिस्थितिलाई मध्यनजर गर्दै चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन तत्कालका लागि रोकिएको छ।

भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रदर्शन मिति निर्माण पक्षले सारेको हो। आर्टिस्टिक इन्टरटेन्मेन्टका तर्फबाट निर्माता वसन्त लम्सालले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ मिति सार्वजनिक गरेका छन्।

निर्माण पक्षका अनुसार देशका विभिन्न क्षेत्रमा विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला सामाजिक तथा पारिवारिक कथामा आधारित चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्षसहित प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको हो।

अब चलचित्र ‘बा : एक योद्धा’ आगामी मंसिर २४ गते बिहीबारदेखि प्रदर्शनमा आउने भएको छ।

प्रदर्शन मिति परिवर्तन हुँदा दर्शक, वितरक, प्रदर्शक तथा सञ्चारकर्मीलाई पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमायाचना गरेको छ।

यसैबीच, चलचित्र निर्माण टोलीले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

निर्माण पक्षले विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, देश तथा विदेशमा रहेका नेपालीलाई आफ्नो क्षमताअनुसार राहत तथा उद्धार अभियानमा सहयोग गर्न पनि अपिल गरेको छ।