नेपालका बाढीपीडितलाई के–पप स्टार ली नोको १० करोड वन सहयोग


काठमाडौं ।

दक्षिण कोरियाली लोकप्रिय के–पप समूह ‘स्ट्रे किड्स’का सदस्य ली नोले नेपालमा बाढीका कारण प्रभावित तथा विस्थापित परिवारका लागि १० करोड वन अर्थात् करिब ७२ हजार अमेरिकी डलर सहयोग गरेका छन्।

उनको व्यवस्थापन संस्था जेवाईपी इन्टरटेनमेन्टले सोमबार सहयोगबारे जानकारी सार्वजनिक गरेको हो। संस्थाका अनुसार ली नोले अगस्ट २८ मा अन्तर्राष्ट्रिय मानवीय तथा विकास संस्था वर्ल्ड भिजनमार्फत उक्त रकम उपलब्ध गराएका हुन्।

नेपालमा आएको भीषण बाढीबाट प्रभावित बालबालिका तथा परिवारको उद्धार, राहत र जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले रकम प्रदान गरेका हुन्।

वर्ल्ड भिजनले उक्त रकम प्रभावित समुदायका लागि खाद्यान्न तथा पोषण सामग्री, अस्थायी आवास, स्वच्छ खानेपानी र सरसफाइका कार्यक्रम सञ्चालनमा प्रयोग गर्ने जनाएको छ।

सहयोगबारे प्रतिक्रिया दिँदै ली नोले आफ्नो सानो प्रयासले विपत्तिको कठिन परिस्थितिबाट गुज्रिरहेका मानिसलाई केही राहत र हौसला मिल्ने विश्वास व्यक्त गरेका छन्। उनले बाढीका कारण विस्थापित भएका नागरिक र राहत तथा उद्धारमा खटिएका सबै जना सकेसम्म चाँडो सामान्य जीवनमा फर्किन सकून् भन्ने कामना पनि गरेका छन्।ली नो यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय अभियानमा सहयोग गर्दै आएका छन्। उनले सन् २०१४ देखि नै वर्ल्ड भिजनमार्फत विदेशका बालबालिकालाई सहयोग तथा प्रायोजन गर्दै आएको जनाइएको छ।

सन् २०२४ मा उनले विश्वका गरिब मुलुकका बालबालिकालाई लक्षित विश्वव्यापी खाद्य संकट प्रतिकार्य कार्यक्रममा समेत १० करोड वन सहयोग गरेका थिए। सो सहयोगपछि उनी वर्ल्ड भिजनका संस्थापक बब पियर्सको नाममा स्थापित ‘बब पियर्स अनर क्लब’मा सबैभन्दा कम उमेरमा सदस्य बनेका थिए।

त्यस्तै, सन् २०२५ मा उनले सामसङ सोल अस्पताल र बिरालो उद्धार संस्थालाई गरी कुल २० करोड वन सहयोग गरेका थिए। अस्पताललाई प्रदान गरिएको रकम गम्भीर रोगबाट पीडित बालबालिका तथा वयस्कको उपचार र हेरचाहमा प्रयोग गरिएको थियो।

स्ट्रे किड्सको पछिल्लो ईपी ‘दिस एन्ड द्याट’ अगस्ट ७ मा सार्वजनिक भएको थियो। उक्त ईपी अमेरिकी बिलबोर्ड २०० को पहिलो स्थानमा पुगेको थियो।

यससँगै समूहले लगातार नवौं पटक बिलबोर्ड २०० को शीर्ष स्थानमा पुग्ने एल्बमको उपलब्धि हासिल गरेको जनाइएको छ। समूह अहिले नयाँ ईपीको प्रवर्धनसँगै सांगीतिक भ्रमणमा व्यस्त छ।

नेपालका बाढीपीडितलाई ली नोले गरेको यो सहयोगले उनको सांगीतिक लोकप्रियतासँगै मानवीय सेवाप्रतिको चासो पनि चर्चामा ल्याएको छ।