कन्दराको एटलान्टा कन्सर्टबाट उठेको २१ लाख रुपैयाँ बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा


काठमाडौं ।

लोकप्रिय सांगीतिक समूह कन्दराले अमेरिकाको एटलान्टामा आयोजना गरेको कन्सर्टबाट संकलित रकम भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।

कन्दराले कन्सर्टबाट संकलित १३ हजार ६७० अमेरिकी डलर अर्थात् करिब २१ लाख रुपैयाँ कोषमा जम्मा गरेको हो। कन्सर्ट सम्पन्न भएलगत्तै ब्यान्डका तर्फबाट गायक विवेक श्रेष्ठले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआरमार्फत रकम हस्तान्तरण गरेका थिए।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि कन्दराले एटलान्टामा पूर्वनिर्धारित कार्यक्रमलाई राहत सहयोगमा केन्द्रित ‘ट्रिब्युट कन्सर्ट’मा परिणत गरेको थियो।

‘शोकलाई शक्तिमा, संगीतलाई सेवामा’ भन्ने भावनासहित ब्यान्डले कन्सर्टबाट प्राप्त रकम बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

अमेरिकाबाट प्रतिक्रिया दिँदै गायक विवेक श्रेष्ठले कलाकारको सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आफूहरूले संगीतमार्फत विपत्तिमा परेका नेपालीलाई सहयोग गर्ने प्रयास गरेको बताए।

‘हामी कलाकार हौं र कलाकारितामार्फत पीडामा मल्हम लगाउने काम गरेका हौं,’ श्रेष्ठले भने।

कन्दरा अहिले आफ्नो ‘रिदम अफ चेन्ज’ सांगीतिक यात्राका क्रममा अमेरिकामा विभिन्न शहरमा प्रस्तुति दिइरहेको छ। एटलान्टापछि ब्यान्डले भर्जिनिया र कोलोराडोको डेनभरमा समेत प्रस्तुति दिने तयारी गरेको छ।