भोटेकोशी बाढी : नारायणी तटमा २५५ शव र १०७ मानव अंग फेला

भारतमा ४ शव भेटिए

0
Shares

नवलपरासी। 

नवलपरासी पूर्व र पश्चिम २ जिल्ला भएर बग्ने नारायणी नदीका तटीय क्षेत्रमा भाेटेकाेशी बाढीले बगाई ल्याएका २ सय ५५ शव र १ सय ७ मानव अङ्ग भेटिएका छन् ।

बुधबारदेखि आइतबार अवेरसम्म नवलपरासी पूर्वमा ४७ महिला ७१ पुरुष ११ बालक र १४ बालिका गरी १ सय ४३ शव र ६४ मानव अङ्ग भेटिएको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।

जसमध्ये ४ महिला १० पुरुष १ बालक गरी  १५ शवकाे पहिचान भई परिबारका सदस्यले सनाखत गरी बुझि लगेकाे तथा १७ महिला २७ पुरुष ४ बालक ४ बालिका र ४१ अन्य गरी ९३ शवकाे जमिनमुनि अस्थायी व्यवस्थापन भएकाे सूचना अधिकारी प्रनाउ अनिल पण्डितले बताए ।

प्रहरीका अनुसार व्यवस्थापन हुन बाँकी रहेका शवहरू हाल गण्डकी अस्पताल पाेखरा,प्रदेश अस्पताल तानसेन पाल्पा तथा जिल्लाकै नगर अस्पताल गैडाकाेट,मध्यविन्द,प्रदेश अस्पताल डण्डा र स्थानीय अंकुर वनकाे हाेल्डिङ्ग सेन्टरमा राखिएका छन् ।

जुन शवहरू नवलपरासी पूर्वकाे गैडाकाेट,देवचुली,सदरमुकाम कावासाेती,मध्यविन्दु नगर तथा विनयी त्रिवेणी गाउँपालिका अन्तर्गतका नारायणी नदी तटीय क्षेत्रमा फेला पारी संकलन गरिएका हुन् ।

सीमावर्ती भारतीय क्षेत्रमा भेटिएका चार शव नवलपरासी पश्चिम ल्याइए

यसरी नै पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउँ पालिका वडा नम्बर ४ र ५ हुँदै बग्ने नारायणी नदीकाे विभिन्न ठाेक्कर (छेकवार) तथा भारतीय क्षेत्रमा भेटिएका ३ महिला १ पुरुष समेत गरी ३३ महिला ६७ पुरुष ७ बालक ५ बालिकाकाे शव तथा ४३ अन्य मानव अङ्ग प्रहरीले संकलन गरेकाे जनाएको छ ।

भारतकाे उत्तर प्रदेश राज्यकाे महाराजगंज क्षेत्रमा भेटिएका शवलाई भारतीय प्रहरीसंगकाे समन्वयमा ती शवहरूलाई नेपाल ल्याइएको हाे ।

बताईए अनुसार साे क्षेत्रमा अरू ६ वटा शव देखा परेकाे र नेपाल तर्फ ल्याउनका लागि कुरा भई रहेकाे छ ।

संकलित शवहरूलाई भिम अस्पताल भैरहवा,पिपरा अस्पताल कपिलवस्तु,लुम्बिनी प्रदेश अस्पताल बुटवल र पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा राखिएकाे छ।

यस्तै केही पहिचान हुन नसकेका ४५ शवलाई विपदजन्य अवस्था वेवारिसे शव व्यवस्थापन निर्देशिका २०८३ अनुसार अस्थायी व्यवस्थापन गरिएकाे जिप्रका नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले बताए ।

सूचना अधिकारी थापाका अनुसार पहिचानका लागि विभिन्न अस्पतालमा राखिएका शव मध्ये १ महिलाकाे मात्र सनाखत भई परिवार जनले शव बुझि लगेकाछन्।

रसुवाकाे भाेटेकाेशी बाढीले जनधनकाे ठूलाे क्षति पुराएकाे कुरा नारायणी नदीले बगाई ल्याएका मानिस,चौपाया,धनमाल तथा रूख विरूवालाई हेरेर सहजै अनुमान लगाउन सकिने स्थानीयहरू बताउँछन् ।

उनीहरू भन्छन् नदी किनारका पाैडिवाज मानिस तथा सुरक्षाकर्मीहरूले दिनमा बगेर आएका मानव शव लगायतका चिज वस्तु नदीबाट झिकेर पाखा लगाई रहे पनि रातमा बगेर भारत तर्फ जाने कुराकाे कुनै लेखा जाेखा छैन ।

यसै विषयमा भाेटेकाेशी बाढीमा परी सम्पर्क विहीन रहेका आफ्ना छिमेकीकाे खाेजिमा नारायणी किनार पुगेका स्थानीयले भने आइतबार मात्रै कावासाेती १२ पिठाैलीघाटमा केहीवेरकाे अन्तरालमै ७ जनाको शव भेटियो अन्य ३ वटा शव बगेर गएकाे सुनिएकाे छ ।

त्यसैले नदी किनारका ठाउँ ठाउँमा सुरक्षाकर्मीकाे तैनाथी र  जनप्रतिनिधिकाे परिचालन तथा नदीकाे दुबै किनारा एवं भंगालाहरूमा रवर बाेट बाट मानव शवकाे खाेजका लागि अविलम्ब सर्च अभियान चलाउनु पर्ने कावासेती १३ का केशव रिजाल बताउँछन् ।