बाबुको मृत्यु भएपछि पेन्सनपट्टा हेर्दा आमाको होइन, अर्कै महिलाको नाम भेटिन्छ। यही एउटा घटनाले वर्षौंदेखि परिवारको स्मृतिबाट हराइसकेकी जेठी आमाको खोजी सुरु गराउँछ। त्यसपछि खुल्दै जाने पारिवारिक सम्बन्ध, विगत र लाहुरे जीवनको सामाजिक प्रभावको कथा हो फिल्म पेन्सन पट्टा।
माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्मको ट्रेलर हालै राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। सिटी सेन्टरस्थित बिग मुभिजमा सार्वजनिक ट्रेलरले पेन्सनको अधिकारस“ग जोडिएको एउटा प्रश्नले परिवारभित्र लुकेको पुरानो कथा कसरी बाहिर ल्याउँछ भन्ने देखाएको छ।
दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभएर बाबुकी पहिलो पत्नीको नाम भेटिएपछि पात्र जेठी आमाको खोजीमा निस्कन्छ। तर खोजी गर्दै जाँदा उसले एउटा व्यक्तिको अवस्थामात्रै बुझ्दैन, लाहुरे परम्परास“ग जोडिएको परिवारको विगत, वैवाहिक सम्बन्धका जटिलता र सम्बन्धमा परेको दूरीसमेत सामना गर्नुपर्ने संकेत ट्रेलरले गर्छ।
लाहुरे जीवनलाई बाहिरबाट पेन्सन, प्रतिष्ठा र सुख–सुविधासंग जोडेर हेरिए पनि त्यसको अर्को पाटोमा परिवारबाट टाढिनुपर्ने बाध्यता, सम्बन्धमा आउने उतारचढाव र भावनात्मक पीडा पनि हुन्छन्। पेन्सन पट्टाले यही नदेखिएको पाटोलाई पारिवारिक कथामार्फत प्रस्तुत गर्न खोजेको देखिन्छ।

ट्रेलरमा दयाहाङसंगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्व. सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, राज कौछा मगर, यासिली योख्खा, डिबी गुरुङ, प्रतिक्ष्ाँ गुरुङ, सोल गुरुङ, अनुषा राई, मनोज गुरुङ, मनिका गुरुङ, कुबिना गुरुङलाई प्रस्तुत गरिएको छ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङले निर्माण गरेको फिल्ममा सुरज तामु र केर डी. कोइन्च लिनुच सह–लेखन, मनोज थापा मगर, शिव बराइली र सुरज तामुको संगीत, राजु याक्चाको कला निर्देशन, सुशन प्रजापतिको छायांकन तथा निमेश श्रेष्ठ र केर डी. कोइन्च लिनुचको सम्पादन रहेको छ। फिल्म आगामी २६ गते रिलीजमा आउँदैछ।












प्रतिक्रिया