थाइल्याण्डबाट सुर्यान्स जुनियर मोडल इन्टरनेसनल


थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय बाल प्रतिभा तथा मोडलिङ प्रतियोगिता जुनियर मोडल इन्टरनेसनल २०२६ मा नेपाली बालक सुर्यान्स श्रेष्ठले शीर्ष उपाधि जितेका छन्।
२५ देशका बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा उनले विजय हासिल गरेका हुन्। प्रतियोगिताको प्रि–टिन विधामा सुर्यान्सले मुख्य उपाधिस“गै प्रिन्स अफ एशिया सब–टाइटलसमेत जिनेका छन्।

नेपालबाट सुर्यान्ससंगै शिवांशु अर्याल र अदिश्री आचार्यले प्रतियोगितामा सहभागिता जनाएका थिए। शिवांशुले जुनियर विधातर्फ प्रिन्स अफ एशिया तथा अदिश्रीले प्रिन्सेस अफ एशिया सब–टाइटल जित्दै नेपाली टोलीको सफलता थप बलियो बनाए। प्रतियोगितामा नेपाली बालबालिकाले नेपाली कला, संस्कृति, इतिहास र पहिचानलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका थिए। अदिश्रीले नेपालको मौलिक पहिचान बोकेको ढाका कपडालाई आफ्नो प्रस्तुतिको माध्यम बनाइन्।

शिवांशुले ऐतिहासिक ढुंगेधाराको इतिहास र वास्तुकला झल्किने भेषभूषा प्रस्तुत गरेका थिए। सुर्यान्सले भने विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका दूत भगवान बुद्धको देशका रूपमा नेपालको पहिचानलाई आफ्नो प्रस्तुतिमा समेटेका थिए। नेपाली टोलीले बाजागाजासहित मौलिक भेषभूषा लगाएर नेवारी संस्कृति र परम्परा झल्किने गीतमा विशेष प्रस्तुति दि“दै अन्तर्राष्ट्रिय सहभागी र दर्शकको ध्यान खिचेको थियो।

नेपाली बालबालिकालाई प्रतियोगितामा सहभागी गराउने संयोजन रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको हो। प्रतियोगितामा सहभागी नेपाली बालबालिकाका लागि आवश्यक फेसन कन्सेप्ट भने डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन्।