पृथ्वी राजमार्ग ठप्प, काठमाडौँको आपूर्ति सङ्कटमा

एक सातादेखि १० दिनसम्म सडक खुल्ने सम्भावना न्यून

752
Shares

–हजारौँ ट्रक–कन्टेनर रोकिँदा अत्यावश्यक वस्तुको आपूर्तिमा दबाब

–कृत्रिम अभाव र कालोबजारी रोक्न बजार अनुगमन चुनौतीपूर्ण

काठमाडौँ।

पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि काठमाडौँ उपत्यकाको आपूर्ति प्रणाली नै जोखिममा परेको छ ।
बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित कृष्णभीरमा सडक भासिएर पृथ्वी राजमार्ग फेरि अवरुद्ध भएको हो । यसले गर्दा काठमाडौँ उपत्यका भित्रिने मुख्य नाका बन्द हुँदा हजारौँ ट्रक तथा कन्टेनर बाटोमै रोकिएका छन् ।

पश्चिम र दक्षिणी नेपालबाट उपत्यकामा भित्रिने खाद्यान्न, तरकारी, फलफूल, औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीको झन्डै ७० प्रतिशत हिस्सा यही सडक हुँदै ढुवानी हुन्छ । यसले गर्दा उपत्यकामा दैनिक उपभोग्य वस्तुको अभाव हुने सङ्केत देखिएको छ । पृथ्वी राजमार्गले काठमाडौँलाई चितवन, पोखरा तथा पश्चिम नेपालसँग जोड्छ । त्यसैले यसको अवरोधले यात्रु र मालसामानको ढुवानीसँगै पर्यटन, होटल, उद्योग, व्यापार तथा सार्वजनिक यातायात क्षेत्रलाई समेत प्रत्यक्ष असर पु¥याएको छ ।

सडक विभागले उक्त सडक सञ्चालनमा कम्तीमा एक सातादेखि १० दिनसम्म लाग्ने बताएको छ । यस्तो अवस्थामा उपत्यकामा अत्यावश्यक वस्तुको अभाव हुन नदिन साना सवारी साधनमार्फत भए पनि वैकल्पिक मार्गबाट सामान ल्याउने तयारी अघि बढाइएको मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले जानकारी दिनुभयो । बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा सडक तथा पुलमा क्षति पुगेको अवस्थामा त्रिशूली नदीको बहाव बढ्दा पृथ्वी राजमार्गमा समेत थप क्षति पुगेको थियो । सडकको दुवैतर्फ पहिरो खसेको थियो ।

बुधवार बाढीको सूचनापछि ठप्प रहेको पृथ्वी राजमार्ग शुक्रवार साँझदेखि खुलेको थियो । उक्त राजमार्ग बन्द हुँदा हजारौँ ट्रक कन्टेनर उतै रोकिएको काठमाडौैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार राजमार्गको अवस्था सामान्य नभएसम्म सो सडक खण्डबाट यातायात सञ्चालन गर्न सकिने अवस्था छैन ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूका अनुसार पृथ्वी राजमार्ग र रसुवा नाका बन्द हुँदा दैनिक उपभोग्य सामग्री ल्याउन कठिन भएको छ । ‘हामीले वैकल्पिक मार्गको खोजी गरिरहेका छौँ । मन्त्रालयले मकवानपुर टीकाभैरव हुँदै आउने कान्ति लोकपथ, हेटौँडा र फर्पिङको सडक कत्तिको उपयुक्त हुन्छ भनेर आँकलन गरिरहेका छौँ’ –उहाँले भन्नुभयो । हेटौँडा जोड्ने अन्य सडकहरूमा धेरै घुम्ती र साँघुरो भएका कारण ठूला ट्रक र कन्टेनर ल्याउन चुनौतीपूर्ण देखिएको छ । कान्तिलोकपथको पुलको भारवहन क्षमता कमजोर रहेकाले दैनिक ठूलो मात्रामा गाडी ओहोरदोहोर गर्न सकिने स्थिति छैन ।

खाद्यान्न, पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुको अभाव तथा मूल्यवृद्धिको चिन्ताले सर्वसाधारण पिरोलिन थालेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका प्रेमलाल महर्जनले आपूर्ति मार्ग अवरुद्ध भएको मौका छोपेर व्यवसायीले कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्न सक्ने भन्दै सरकारलाई सचेत हुन आग्रह गर्नुभयो । उहाँका अनुसार सङ्कटका बेला बजारलाई खुला छाड्दा वास्तविक अभावभन्दा पनि कृत्रिम अभाव र बिचौलियाको चलखेलका कारण उपभोक्ता बढी मारमा पर्न सक्छन् ।

‘राजमार्ग बन्द हुनु प्राकृतिक विपत्ति हो, तर त्यसैलाई बहाना बनाएर व्यापारीले मनपरी मूल्य बढाउने र सामान लुकाउने अवस्था आउन दिनु हँुदैन । सरकारसँग बजारको वास्तविक मौज्दात र दैनिक खपतको तथ्याङ्क हुनुपर्छ । कुन वस्तु कहाँ कति छ र कहाँ अभाव हुन सक्छ ? भन्ने पहिचान गरेर तत्काल आपूर्ति व्यवस्थापन र बजार अनुगमन सँगसँगै अघि बढाउनुपर्छ’ –उहाँले भन्नुभयो ।

विशेषगरी खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको मूल्य, मौज्दात र बिक्रीवितरण प्रणालीमा नियमित निगरानी गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– ‘कृत्रिम अभाव, कार्टेलिङ, कालोबजारी वा अस्वाभाविक मूल्यवृद्धि गरेको पाइए तत्काल कारबाही गर्नुपर्दछ ।’

सरकारले अन्य वैकल्पिक बाटोबाट साना सवारी साधनको प्रयोग गरेर भए पनि सामान भित्र्याउने तयारी अघि बढाएको छ । विशेषगरी खाद्यान्न, चिनी र पेट्रोलियम पदार्थको आपूर्तिलाई पहिलो प्राथमिकतामा राखेर कार्ययोजना बनाइरहेको छ । यसैबीच आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र जिल्ला प्रशासन कार्यालयहरूसँग निरन्तर छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।