जितबहादुर, बैकुण्ठ र सूर्यकुमारीका प्रशिक्षक मधु शमशेरको सहयोग  


काठमाडौं । 

नेपाली खेलकुदका जीवित इतिहास मानिने देशकै पहिला एथ्लेटिक्स प्रशिक्षक मधु शमशेर जबराले रसुवाको भोटेकोशीमा हालै आएको जलप्रलयका पीडितहरूका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका पूर्वप्रशिक्षक जबराले शनिबार नबिल बैंकको खातामार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा  क्यूआर कोडमार्फत व्यक्तिगत रूपमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्नुभएको हो । उहाँ तिनै ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ, जसको मुख्य प्रशिक्षणमा धावक जितबहादुर केसीले सन् १९७३ मा नेपालका लागि पहिलो ऐतिहासिक एसियाली पदक दिलाएका थिए । त्यसैगरी, नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन पटक स्वर्ण पदक जित्दा, तथा सन् १९७५ मा जापानमा आयोजित पारा खेलकुदको प्रतिष्ठित विश्वस्तरीय “एफईएसपीआईसी” गेम्समा सूर्यकुमारी गुरुङले नेपाललाई पहिलो स्वर्ण पदक दिलाउँदा जबरा नै राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हुनुहुन्थ्यो ।

यस विषम परिस्थितिमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई एकजुट भएर आ–आफ्‌नो क्षमता अनुसार राहत र उद्धारमा सघाउन अपिल गर्दै प्रशिक्षक जबराले खेलकुद क्षेत्रका पदाधिकारी, प्रशिक्षक तथा अन्यहरूलाई पनि बाढीपीडितको सहयोगका लागि हात बढाउन आग्रह गर्नुभएको छ ।