काठमाडौं ।
रसुवामा आएकोभीषण बाढी र पहिरोपछि जारी उद्धार तथा खोजी कार्यअन्तर्गत नेपाली सेनाले १६ जना विदेशी नागरिकसहित हालसम्म ४०९ जनाको उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार आइतबार (भदौ १४) दिउँसो ३ बजेसम्म सेनाका हेलिकप्टरमार्फत प्रभावित क्षेत्रबाट १५ जना चिनियाँ र १ जना भारतीय नागरिकसहित ४०९ जनाको उद्धार गरिएको हो।
यसैबीच, त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा फसेका टोलीको उद्धारका लागि भदौ १२ गतेदेखि अस्थायी रूपमा परिचालन गरिएको विशेषज्ञसहितको संयुक्त टोलीले खोजी कार्यलाई तीव्र बनाएको छ।
टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरी ‘क्राउनहेड’ फेला पार्न सफल भएको सेनाले जनाएको छ। क्राउनहेडतर्फ बनाइएको होलबाट अवलोकन गर्दा करिब ७ मिटरको व्यासमा निकै माथिसम्म पानीको सतह रहेको देखिएको छ।
टनेलभित्र ठूलो मात्रामा पानी जमेको देखिएपछि फसेका टोलीको अवस्थाबारे थप जानकारी लिन तथा सुरक्षित उद्धारका लागि प्राविधिक टोलीले काम अघि बढाइरहेको छ।
बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा उद्धार, खोजी, राहत तथा पुनःस्थापनाका लागि नेपाली सेनाको ८ हजार ५ सयभन्दा बढी फौज परिचालन गरिएको छ। सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको सेनाले जनाएको छ।
रसुवासहितका प्रभावित क्षेत्रमा बाढी–पहिरोको जोखिम कायमै रहेकाले नदी तथा खोलाको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।











प्रतिक्रिया