३५ सय मानिस सहभागी रेव पार्टीमा गोली चल्यो, १ को मृत्यु, ५ घाइते


काठमाडौं ।

स्विट्जरल्याण्डको उत्तरी क्षेत्रमा आयोजित एक कार्यक्रममा गोलीहानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार आइतबार बिहान आरगाउ क्यान्टोनको साचेन क्षेत्रमा रहेको एक मैदाननजिक गोली चलाइएको हो। घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

आरगाउ क्यान्टोनल प्रहरीले घटनापछि गोली चलाउने अज्ञात व्यक्तिको खोजी गरिरहेको जनाएको छ। प्रहरीले गोली चल्नुको कारण र घटनाको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरेको छैन।

स्विस सञ्चारमाध्यमका अनुसार घटनास्थलमा आइतबार बिहानसम्म ‘रेभ पार्टी’ भइरहेको थियो। सोही क्रममा गोलीहानाहान भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

घटनास्थल ज्युरिख शहरबाट करिब ४६ किलोमिटर पश्चिममा पर्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।