मिसेस भोग नेपाल सिजन–३ की विजेता प्रतीक्षा थापाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै मिसेस ग्रान्ड ग्लोबल वुमन २०२६ को उपाधि चुमेकी छन्।
म्यान्मारमा हालै सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा ३२ वर्षीया प्रतीक्षाले मुख्य उपाधिस“गै मिसेस ग्ल्यामरको सब–टाइटलसमेत जितेकी छन्।
हाउस अफ फेसन नेपालका अनुसार प्रतीक्षाले प्रतियोगितामा नेपाललाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय उपाधि जितेकी हुन्।
प्रतियोगितामा नेपालका तर्फबाट राष्ट्रिय निर्देशकका रूपमा सहभागी ओशिमा बानुले पनि बेस्ट नेसनल डाइरेक्टर अवार्ड प्राप्त गरेकी छन्।
हालै राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतीक्षा र ओशिमाले म्यान्मारमा हासिल गरेको सफलताबारे सञ्चारकर्मीसँग अनुभव साझा गरे।
यसैबिच हाउस अफ फेसन नेपालले प्रतीक्षाको अन्तर्राष्ट्रिय सफलतासगै मिसेस भोग नेपाल सिजन–४ को समेत घोषणा गरेको छ।
प्रतियोगितालाई विवाहित महिलाको व्यक्तिगत रूपान्तरण, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, सञ्चार क्षमता, व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रिय अवसरसग जोडिएको यात्राका रूपमा अघि बढाइने आयोजकले जनाएका छन्। यसपटक भौतिक अडिसनको साटो नेपालका विभिन्न स्थान तथा विदेशमा रहेका इच्छुक महिलाले समेत सहभागिता जनाउन सक्ने गरी सम्पूर्ण अडिसन प्रक्रिया अनलाइनमार्फत सञ्चालन गरिने भएको छ। अडिसनबाट छनोट भएका सहभागीलाई प्रतियोगिताको यात्राका क्रममा विभिन्न व्यावसायिक ग्रुमिङ तथा प्रशिक्षणमा सहभागी गराइनेछ। सिजन–४ का विजेताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने तथा ग्लोबल एक्सपोजरको अवसर पाउनेछन्। आगामी जनवरीमा हुने ग्राण्ड फिनालेका विजेतालाई ५ लाख रुपैया“सम्मका नगद तथा विभिन्न उपहार र अवसर उपलब्ध गराइनेछ।











प्रतिक्रिया