काठमाडौं ।
रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आज बिहान पुनः भीषण बाढी आएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको बहाव बढेसँगै सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न स्थानीय प्रशासन र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अपिल गरेका छन्। बाढी तथा पहिरोको जोखिम बढेपछि चितवन प्रहरीले नारायणगढबाट मुग्लिङ हुँदै काठमाडौं तथा पोखरातर्फ जाने–आउने सबै प्रकारका सवारी साधनको आवागमन अर्को सूचना नआएसम्म पूर्ण रूपमा बन्द गरेको छ।
यससँगै प्रमुख राजमार्गमा सयौँ सवारी साधन रोकिएका छन् भने यात्रुहरू बाटोमै अलपत्र परेका छन्। प्रहरीका अनुसार भोटेकोशी र त्रिशूली नदीको जलस्तर बढिरहेको तथा विभिन्न स्थानमा पहिरोको जोखिम रहेकाले तत्काल यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। विशेषगरी नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा रहेका नागरिकलाई उच्च सावधानी अपनाउन भनिएको छ। यसअघि भदौ १० गते चीन–नेपाल सीमाक्षेत्र नजिकबाट आएको अप्रत्याशित बाढीले ल्हेन्दे खोला हुँदै भोटेकोशी र त्रिशूली नदीमा ठूलो बाढी आएको थियो। उक्त बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो।
नेपाल प्रहरीले त्यसपछि पनि पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा सडक तथा मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरेको थियो। पुरानो बाढीको क्षति र उद्धार तथा पुनःस्थापनाको काम नसकिँदै ल्हेन्दे खोलामा पुनः बाढी आएपछि तल्लो तटीय क्षेत्रमा थप जोखिम बढेको छ। प्रशासनले जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न, सुरक्षा निकायको निर्देशन पालना गर्न र अत्यावश्यक बाहेकका यात्रा स्थगित गर्न आग्रह गरेको छ।
सरकारको आधिकारिक रसुवा बाढी उद्धार पोर्टलले समेत प्रभावित क्षेत्रमा उद्धार तथा सहयोगका लागि आपत्कालीन संयन्त्र सक्रिय रहेको जनाएको छ। नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, विपद् प्रतिकार्य हटलाइन १२३४ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ११५५ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था छ।











प्रतिक्रिया