संकलित शवलाई नवलपरासी पूर्वका दुई सामुदायिक वनमा व्यवस्थापन गरिने  

0
Shares

नवलपरासी। 

भाेटेकाेशी तथा त्रिशुलीकाे बाढीमा परि ज्यान गुमाएका मानिसहरूकाे नारायणी नदीबाट संकलित पहिचान नखुलेका शवहरूलाई सामुदायिक वनमा व्यवस्थापन गरिने भएकाे छ ।

विपद व्यवस्थापन तथा जिल्ला सुरक्षा समितिकाे निर्णय अनुसार पहिचान नखुलेका,शरीरका अङ्गहरू टुक्रिएकाे अवस्थामा फेला परेका शवहरूकाे डिएनए नमूना संकलन तथा पाेष्टमार्टम गरी कानुनी प्रकृया पूरा गरेर शवकाे व्यवस्थापन गर्न लागिएकाे जिल्ला प्रहरी प्रमुख युवराज खड्काले बताए ।

प्रउ खड्काका अनुसार जिल्लामा सुरक्षित र सुबिधा युक्त शवगृहकाे अभावमा भेटिएका शवहरू तराईको अत्यधिक गर्मीका कारण दिनदिनै गल्दै गई दुर्गन्धित पनि हुँदै गएकाेले जिल्लाका दुई सामुदायिक ज्याेतिकुञ र दिव्यपुरी वनमा पहिचानका लागि ट्यागहरू राखेर व्यवस्थापन गरिने भएकाे छ ।

नवलपरासी पूर्वकाे गैडनकाेट देखि त्रिवेणीसम्मकाे झण्डै १ सय किलोमिटर नारायणी नदीकाे तटीय क्षेत्रमा भाेटेकाेशी बाढी आएकाे भदौ १० गते साँझ देखिनै मानव शवहरू भेटिएका थिए ।

नदीमा भेटिएका शवहरूलाई प्रहरीले जिल्ला प्रशासन,सबै सुरक्षा अंङ्ग तथा स्थानीय जनप्रतिनिधिहरूसंग समन्वय गरी जिल्लाका नगर अस्पताल,जिल्ला अस्पताल तथा हाेल्डिङसेन्टरमा सकेसम्म वातानुकुलित व्यवस्था गरी राखेकाे थियाे ।

संकलित शवकाे संख्यामा दिनहुँ बढाेत्तरी आएसंगै शव व्यवस्थापनका लागि स्थान अभाव हुँदै जाँदा विपद व्यवस्थापन समितिकै निर्णयमा वाह्य जिल्लासंग समन्वय गरी सुरक्षित व्यवस्थापन तथा पहिचानका लागि ४९ ओेटा शवलाई पाेखरा र पाल्पा पठाईएकाे प्रजिअ जगदिश्वर उपाध्यायले बताउनु भयाे ।

पहिचान नखुली रहेका शवहरूलाई व्यवारिसे शव व्यवस्थापन  निर्देशिका २०८३ अनुसार सकेसम्म पहिचानमा सहज रहने गरी सांकेतिक काेड सहितकाे नम्बर राखेर सुरक्षा घेरा वनाई अस्थायी संरक्षणका लागि शवकाे व्यवस्थापन गर्ने जिल्ला सुरक्षा समितिकाे तयारी रहेकाे बुझिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार बुधबार देखि शनिबार अवेर सम्म ४४ महिला ६३ पुरूष ११ बालक १२ बालिका र ५४ मानव शरीरका विभिन्न अंङ्ग गरी १ सय ८४ शव जिल्लाका विभिन्न प्रहरी युनिट अन्तर्गतका नारायणी नदी क्षेत्रमा भेटिएकाे छ ।

बाढीकाे उच्च बहाव र तिब्र गतिका कारण मानिसकाे हात, खुट्टा,टाउकाे, जाँघ, लगायत शरीरका अंङ्गहरू टुक्रिएकाे अवस्थामा अधिकाशं शवहरू भेटिएकाेले पहिचानमा समेत कठीनाई देखिएकाे हराएका आफन्तकाे खाेजिमा रहेका मानिसहरूले बताएकाछन्  ।

भेटिएका शव मध्ये ३ महिला ६ पुरूष गरी ९ जनाकाे परिवार द्वारा पहिचान भई शवकाे सनाखत गरी बुझाउने काम भएकाे जिप्रका नवलपरासी पूर्वले जनाएको छ।