‘नागरिकको ज्यान बचाउनु पहिलो प्राथमिकता हो’ : सभापति लामिछाने


काठमाडौँ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकको ज्यान जोगाउन सरकारलाई आफ्नो सम्पूर्ण सामथ्र्य लगाउन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सभापति लामिछानेले यो कठिन घडीमा सरकार र आफ्नो पार्टी पीडितहरूको साथमा रहेको प्रतिवद्धता जनाएका हुन्।

त्रशूली क्षेत्रमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । उनले बाढी र पहिरोको जानकारी प्राप्त भएलगत्तै आफूले प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्री लगायतका सरकारी संयन्त्रसँग निरन्तर संवाद र समन्वय गरिरहेको जानकारी दिए।

सरकारले रणनीतिक योजनाका साथ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको भन्दै उनले यतिबेला सबैभन्दा महत्वपूर्ण कार्य नागरिकको रक्षा गर्नु रहेको उल्लेख गरे । सभापति लामिछानेले विपद्को समयमा सत्ता र प्रतिपक्षको घेराभन्दा माथि उठेर एकजुट हुन आवश्यक रहेको बताए। संकटको यस घडीमा प्रतिपक्षी दलहरूले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएर उच्च राजनीतिक संस्कार प्रदर्शन गरेको बताए ।

उनले भने, ‘त्रिशूली क्षेत्रमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । यस कठिन घडीमा प्रभावित नागरिकसँग सिङ्गो रास्वपा र सरकार साथमा रहेको कुरा सम्मानित सदनलाई अवगत गराउन चाहन्छु । बिहानदेखि नै प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य मन्त्रीलगायत सम्बन्धित सरकारी संयन्त्रसँग निरन्तर समन्वय र छलफल गरिरहेको छु ।

नागरिकको ज्यान बचाउनु अहिलेको पहिलो प्राथमिकता हो र सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य उद्धार तथा राहतमा लगाउनेछ भन्नेमा म प्रतिवद्ध छु । यस विपद्मा पक्ष–प्रतिपक्ष नभनी सरकारलाई सहयोग गर्ने उच्च राजनीतिक संस्कार प्रदर्शन गर्नुभएकोमा विपक्षी बेञ्चप्रति धन्यवाद व्यक्त गर्दछु । रसुवा र धादिङका नदीतटीय क्षेत्रका नागरिकलाई थप सतर्क रहन, सुरक्षित स्थानमा जान, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गर्दछु । साथै चितवन, नवलपरासी लगायतका नदीतटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन र पर्याप्त सुरक्षा जनशक्ति तथा आवश्यक स्रोत–साधन तत्काल परिचालन गर्न सरकारसँग आग्रह गर्दछु ।’

उनले रसुवा र धादिङका नदीतटीय क्षेत्रका बासिन्दालाई थप क्षति हुन नदिन उच्च शतर्कता अपनाउन, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन अपिल गरेका छन् । साथै, चितवन र नवलपरासी लगायतका तल्लो तटीय क्षेत्रमा समेत सावधानी अपनाउन आग्रह गर्दै उनले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति र आवश्यक स्रोत–साधन तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

Skip This