रसुवा ।
बुधबार बिहान आएको भीषण बाढीले रसुवाको टिमुरे बजारमा ठूलो क्षति पुर्याएको छ। टिमुरे भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाका अनुसार बिहान साढे ८ देखि पौने ९ बजेको बीचमा अचानक भुइँचालोजस्तो कम्पन र ठूलो आवाजसँगै माथिबाट बाढी आएको थियो।
बाढी एकाएक कार्यालय नजिक आइपुगेपछि कर्मचारीहरू भागेर ज्यान जोगाउन सफल भए पनि कार्यालयमा रहेका केही कर्मचारी बाहिर निस्कन नभ्याएको ढुंगानाले बताएका छन्। उनका अनुसार भन्सार कार्यालयमा करिब ३०/४० जना कर्मचारी थिए।
बाढीले टिमुरे बजार नै तहसनहस बनाएको र बजारका अधिकांश मानिस सम्पर्कविहीन रहेको उनले बताए। अहिले करिब १५/२० जना कर्मचारीसहित स्थानीय गरी ४०/५० जनाको समूह बजारभन्दा माथि जंगल क्षेत्रमा सुरक्षित बसेको छ।
बाढीको पानी घटे पनि बजारमा झरेर बेपत्ता भएकाहरूको खोजी तथा उद्धार गर्न सक्ने अवस्था नरहेको ढुंगानाले बताएका छन्। उद्धार टोलीसँग समेत अहिलेसम्म भेट हुन नसकेको र माथिल्लो क्षेत्रमा भएको क्षतिबारे जानकारी नआएको उनले बताए।














प्रतिक्रिया