राजकी अभिनेत्री २४ वर्षपछिभेटिईन्‌ यस्तो अवतारमा


काठमाडौं ।

सन् २००२ मा प्रदर्शनमा आएको बलिउडको चर्चित हरर फिल्म ‘राज’लाई दर्शकले निकै रुचाएका थिए। फिल्ममा बिपाशा बसु र डिनो मोरिया मुख्य भूमिकामा थिए। फिल्मको अर्को महत्वपूर्ण पात्र ‘मालिनी’को भूमिकामा अभिनेत्री मालिनी शर्मा देखिएकी थिइन्।

‘राज’मा मालिनीको प्रवेशले आदित्य र सञ्जनाको कथालाई नयाँ मोड दिएको थियो। फिल्म सफल भएपछि मालिनी शर्मा पनि चर्चित बनेकी थिइन्। तर त्यसपछि भने उनी विस्तारै फिल्मी दुनियाँबाट टाढिँदै गइन्।

हाल मालिनी शर्मा महाराष्ट्रको सह्याद्री पहाडी क्षेत्रमा शान्त जीवन बिताइरहेकी छन्। उनी त्यहाँ फार्मस्टे सञ्चालन गर्नुका साथै तरकारी खेती र पाहुनाको आतिथ्यमा व्यस्त रहेको बताइएको छ। उनले ‘द स्लो लोकल’ नामको व्यवसाय पनि सञ्चालन गरिरहेकी छन्।

मालिनीले आफ्नो मनोरञ्जन क्षेत्रको यात्रा भने मोडलिङबाट सुरु गरेकी थिइन्। त्यसपछि उनी विभिन्न म्युजिक भिडियोमा देखिइन्। बम्बे वाइकिङ्सको चर्चित गीत ‘क्या सूरत है’ तथा मिका सिंहको ‘सावन में लग गई आग’ जस्ता गीतका भिडियोमा पनि उनले काम गरेकी थिइन्।

म्युजिक भिडियो हुँदै टेलिभिजनमा प्रवेश गरेकी मालिनी सन् २००० को दशकको सुरुवाततिर प्रसारण भएको ‘क्याट्स’ नामक सिरिजमा समेत देखिएकी थिइन्। उक्त सिरिजमा नफिसा जोसेफ र कुलजीत रन्धावा पनि सहभागी थिए।

‘राज’पछि चर्चामा आएकी मालिनीले भने फिल्मी करियरलाई निरन्तरता दिनुभन्दा प्रकृतिको नजिक रहेर शान्त जीवन रोजेकी छन्। अहिले उनी सह्याद्रीका पहाडबीच फार्मस्टे र आफ्नै व्यवसाय सञ्चालन गर्दै ‘स्लो लाइफ’को आनन्द लिइरहेकी छन्।