बार्सिलोनाको प्रभावकारी सुरुआत


लन्डन, (एजेन्सी) ।

बार्सिलोनाले ला लिगाको नयाँ सिजन प्रभावकारी ढंगले सुरुआत गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई ५–० गोलले हराएको हो । यो सानदार जितले मुख्य प्रतिद्वन्द्वी रियल मेड्रिडलाई चेतावनी पनि दिएको छ । रियलको पहिलो खेलमा संघर्षरत जित भएको थियो ।

बार्सिलोनालाई जित दिलाउन राफिन्हा र फर्मिन लोपेजले २–२ गोल गरेका थिए । राफिन्हाले १४ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । यसपछि करिम अदेएमीले गोल गर्दै टोलीलाई पहिलो हाफमा २–० को अग्रतामा राखे ।

दोस्रो हाफमा प्रशिक्षक हान्सी फ्लिकले लामिन यामाललाई सब्सीच्यूट गराए । फ्लिकले ६५ औं मिनेटमा उनको स्थानमा एन्थोनी गोर्डनलाई मैदानमा उतारेका थिए । मैदानमा आएको केही क्षणमै गोर्डनले दुई सफल असिस्ट गर्दै ला लिगाको पहिलो खेललाई स्मरणीय पनि बनाए । उनको पासमा राफिन्हाले ६७औं मिनेटमा गोल गरेका थिए । यो उनको दोस्रो व्यक्तिगत गोल थियो ।

यसको चार मिनेटपछि गोर्डनकै पासमा फर्मिनले गोल गरे । ७९औं मिनेटमा फर्मिनले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको फराकिलो जित संभव भएको थियो । योसँगैं बार्सिलोनाले एल्चेविरुद्ध ला लिगामा लगातार ११औं जित हासिल गरेको थियो ।