‘ह्यान्ड अफ गड गोल’ को बल विक्री भयो


लन्डन, (एजेन्सी) ।

डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध हातले गरेको गोलको बल लिलामी गरिएको छ । शनिबार अमेरिकामा भएको लिलामीमा ३.३ मिलियन डलरमा सो बल विक्री भएको छ । तर, लिलामीकर्ताले कमसेकम १० मिलियन डलरको अपेक्षा गरेका थिए ।

म्याराडोनाले हातले गरेको सोही गोल फुटबल जगतमा ‘ह्यान्ड अफ गड गोल’ भनेर चर्चित पनि भयो । मेक्सिकोमा भएको सो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो । तर, सोही खेलमा म्याराडोनाले गरेको दोस्रो गोल भने गोल अफ द सेन्चुरी घोषित भएको थियो ।

ट्युनिसियाका रेफ्री अली बिन नासेरले उक्त खेल सञ्चालन गरेका थिए । उनले यस खेलको एडिडास एज्टेका बल संकलन गरेका थिए । उनले करिब ३ दशकभन्दा बढी समयसम्म बललाई जतन गरी राखेका थिए । उनले सन् २०२२ मा उक्त बललाई २.३७ मिलियन डलरमा बेचेका थिए ।