लन्डन।
रियल मेड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजन २०२६–०२७ जितबाट सुरुआत गरेको छ । योसँगैं प्रशिक्षक जोजे माउरिन्होको पनि ला लिगामा दोस्रो स्पेल जितबाट सुरु भयो । उनी १३ वर्षअघि रियलकै प्रशिक्षकमा थिए ।
शनिबार राति भएको खेलमा रियलले घरेलु टोली इस्पान्योललाई २–१ ले हराएको थियो । टोलीको जितमा जुडे वेलिंगाम र कार्लाेस इस्पीले एक–एक गोल गरेका थिए । इस्पान्योलको लागि एलेक्स कालाले एक गोल गरेका थिए ।
रियलले जित हासिल गर्न निकै संघर्ष गर्नु परेको थियो । सुरुआतीमा दुबैतर्फबाट गोल भएपछि खेल बराबरीतिर समाप्त हुनेतिर अग्रसर भएको थियो । तर, ९० औं मिनेटमा नयाँ अनुबन्ध भएका वैकल्पिक खेलाडी इस्पीले विजयी गोल गर्दै रियलको उद्दार गरेका थिए । उनी लेभान्टेबाट २१ मिलियन पाउन्डमा रियलमा अनुबन्ध भएका हुन् ।
यसअघि खेलमा आर्दा गुलरको पासमा वेलिंगामले गोल गरे खेल सुरु भएको नवौं मिनेटमा अग्रता दिलाएका थिए । ३०औं मिनेटमा इस्पान्योलका एलेक्सले बराबरी गोल गरेका थिए । अब, रियलले दोस्रो खेल अगष्ट २७ मा रियल सोसिडाडसँग खेल्नेछ ।
रियलले गत दुई सिजनमा कुनै पनि प्रमुख उपाधि जित्न सकेको थिएन । जाबी एलोन्सो र अल्भारो अर्बेलोआलाई टोलीको जिम्मा दिएपनि रियल मुख्य प्रतिद्वन्द्वी बार्सिलोनासँग पछि नै परेको थियो ।
यसपटक भने क्लबले ६३ वर्षीय प्रशिक्षक माउरिन्होलाई अनुबन्ध गरेको छ । उनले प्रशिक्षकको करिअरमा २६ प्रमुख ट्रफी जितेका छन् । उनले २०१० देखि २०१३ सम्म रियललाई सम्हाल्दा ला लिगा, कोपा डेल रे र स्पेनीस सुपर कप उपाधि दिलाएका थिए ।











प्रतिक्रिया