पाटनकी तिशा मिस नेवाः नेपाल


नेवार समुदायको भाषा, संस्कृति र पहिचानलाई केन्द्रमा राख्दै राजधानीमा शनिवार सम्पन्न मिस नेवाः नेपालको १९औ“ संस्करणमा ललितपुरको पाटनकी तिशा शाक्यले मुख्य उपाधि चुमेकी छन्। १६ प्रतिस्पर्धीलाई उछिन्दै ताज चुमेकी उनले एक लाख रुपैया“ नगद पुरस्कारसमेत प्राप्त गरेकी छन्।

फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ मा तिशाले मुख्य उपाधिसंगै गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत आफ्नो नाममा पारिन्। उक्त उपाधिबाट उनले थप १० हजार रुपियाँ प्राप्त गरिन्। प्रतियोगितामा सारिका महर्जन फस्ट र जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए। सारिकाले ५० हजार र जेसिकाले २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सबनम शाक्य मिस ट्यालेन्ट, हिमानी प्रधान मिस ट्यालेन्ट फस्ट रनर्सअप र करुणा चक्रधर मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप, करुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ, दुर्गा देउला मिस डिसिप्लिन, हिमानी प्रधान मिस पब्लिक च्वाइस, प्रिस्टिन अवाले बेस्ट ड्रेस, शिक्षा महर्जन नगद १० हजार रुपिया“सहित कञ्चनजंघा अगरबत्ती मिस कल्चर, निश्ला महर्जन नगद १० हजार रुपिया“सहित बेलाभिटा मिस पर्सनालिटी, कलशा अवाले नगद १० हजार रुपिया“सहित श्रीकेश बेस्ट हेयर, दृष्टि महर्जन बेस्ट स्किन, सारिका महर्जन तस्बिर मिस फोटोजेनिक, अनुष्का नकर्मी मिस स्माइल, सोनिया महर्जन मिस चार्मिङ र रेजिना बज्राचार्य मिस फ्रेन्डसिप भए।

आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले प्रतियोगितालाई सौन्दर्य प्रतिस्पर्धामा मात्र सीमित नराखी नेवा समुदायको भाषा, संस्कृति, कला र सामाजिक चेतनाको प्रवद्र्धन गर्ने माध्यमका रूपमा विकास गर्दै आएको बताइन्। रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगिताको सह–संयोजन मिस नेवाः प्रलिशा शाक्य र तिमिला महर्जनले गरेका थिए। सकिना महर्जन र कृषा महर्जन संयोजक रहेका थिए।