माग पुरा नभए पुनः सत्याग्रहमा जाने डा.के.सीको चेतावनी


काठमाडौं। 

प्रा. डा. गोविन्द केसीले बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना खारेज गर्ने सरकारको निर्णय तत्काल बदर गरी निर्माण कार्य सुरु गर्न माग गर्नुभएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले २०८३ साउन १५ गते बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना खारेज गर्ने निर्णय गरेको भन्दै डा. केसीले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । 

स्वास्थ्य र शिक्षा नागरिकका आधारभूत अधिकारसँग जोडिएका विषय भएकाले राज्यले यी क्षेत्रमा उच्च प्राथमिकताका साथ लगानी गर्नुपर्ने उहाँको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरी निर्माण सुरु हुने अवस्थामा पुगेको मधेस प्रदेशको सरकारी मेडिकल कलेजको आयोजना खारेज गर्नु दुर्भाग्यपूर्ण भएको डा. केसीले बताउनुभयो । 

पूर्व–पश्चिम राजमार्गमा अवस्थित बर्दिबास मधेस प्रदेशका ठूलो जनसंख्या र जनघनत्व भएका क्षेत्रसँगै बागमती प्रदेशका केही जिल्लाका नागरिकका लागि समेत सहज पहुँचमा रहेको उल्लेख गर्दै उहाँले सरकारी मेडिकल कलेज स्थापनाका लागि लामो समयदेखि संघर्ष, सत्याग्रह र जनदबाब हुँदै आएको स्मरण गरेका छन् ।

विभिन्न सरकारसँग भएका सहमतिअनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगायत आवश्यक प्रक्रिया पूरा भइसकेको अवस्थामा आयोजना खारेज हुँदा दशौँ लाख नागरिक गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा र चिकित्सा शिक्षा प्राप्त गर्ने अवसरबाट प्रभावित हुने उहाँले बताउनुभएको छ । गत आमनिर्वाचनमा मधेस प्रदेशबाट पूर्ण विजय हासिल गरेको सरकारको यस्तो निर्णयले त्यस क्षेत्रका नागरिक मर्माहत भएको डा. केसीको भनाइ छ ।

उहाँले स्वास्थ्य र शिक्षामा गरिने लगानीले राष्ट्रलाई दीर्घकालीन प्रतिफल दिने भए पनि सरकारले यी क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोप लगाउनुभएको छ । स्वास्थ्य बजेट घटाउने, न्यूनतम मापदण्ड पूरा नगरेका निजी मेडिकल कलेजलाई सिट वृद्धि गरेर पुरस्कृत गर्ने, विपन्न तथा जेहेन्दार विद्यार्थीका छात्रवृत्ति कटौती गर्ने तथा सरकारी चिकित्सा शिक्षण संस्था र नियमनकारी निकायलाई चिकित्सा शिक्षा व्यापारीको प्रभावमा पार्ने नीति जनहित र सुशासनविपरीत भएको उहाँले बताउनुभएको छ । 

नागरिकको स्वस्थ भएर बाँच्न पाउने तथा विद्यार्थीको शिक्षा पाउने अधिकार प्रभावित हुने कुनै पनि नीति सफल हुन नसक्ने भन्दै डा. केसीले राज्यले स्वास्थ्य र शिक्षामा गर्ने लगानीको विकल्प नरहेको बताउनुभयो । डा. केसीले बर्दिबास मेडिकल कलेज आयोजना खारेज गर्ने निर्णय तत्काल बदर गरी निर्माण कार्य अघि बढाउन माग गर्नुभएको छ । साथै इलाम, उदयपुर र डडेलधुरामा स्थापनाको प्रक्रियामा रहेका सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानलाई आवश्यक सहयोग गरी प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गर्नुभएको छ । 

आफ्नो २४औँ सत्याग्रहका क्रममा सरकारसँग भएका सहमति अक्षरशः कार्यान्वयन गर्न तथा बाँकी माग पूरा गर्न पनि उहाँले विज्ञप्ति जारी गरी पुनः आग्रह गर्नुभएको छ । माग पूरा नभए स्थगित गरिएको सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने चेतावनीसमेत डा. केसीले दिनुभएको छ ।