काठमाडौँ —
बलिउड अभिनेत्री कंगना रनौत र तापसी पन्नूबीच लामो समयदेखि चल्दै आएको मौखिक विवाद फेरि चर्किएको छ। दुई अभिनेत्रीबीचको वाकयुद्ध यसअघि पनि पटक–पटक चर्चामा आउने गरेको थियो।
हालै तापसी पन्नूलाई कंगना रनौतसँगको विवाद अन्त्य भएको हो कि भनेर प्रश्न गरिएको थियो। जवाफमा तापसीले कंगनाबारे आफ्नो धारणा उनको परवरिश अर्थात् हुर्काइ र संस्कारलाई प्रतिबिम्बित गर्ने बताएकी थिइन्। उनका अनुसार कंगनाको धारणा पनि उनको आफ्नै परवरिशबाट प्रभावित भएको हुनसक्छ।
तापसीले भनेकी थिइन्, “काे कहाँबाट आएको हो भन्ने हेर्न र निर्णय गर्नका लागि यही पर्याप्त छ।”
तापसीको उक्त अभिव्यक्तिपछि कंगना रनौतले कडा प्रतिक्रिया जनाइन्। उनले तापसीमाथि ‘बेशर्मीका सबै हद पार गरेको’ आरोप लगाउँदै आलोचना गरिन्। कंगनाले तापसीलाई ‘सस्तो कपी’ भन्दै उनको परवरिशमाथि समेत प्रश्न उठाएकी थिइन्।
कंगनाको प्रतिक्रियापछि तापसीले भने उनलाई प्रत्यक्ष रूपमा जवाफ दिइनन्। उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा छोटो तर रहस्यमयी पोस्ट गर्दै लेखिन्, “साबित हो गया।”
तापसीको यो पोस्ट कंगनाको पछिल्लो टिप्पणीप्रतिको अप्रत्यक्ष प्रतिक्रिया भएको अनुमान गरिएको छ। साथै, यसबाट उनी आफ्नो अघिल्लो अभिव्यक्तिमा अझै कायम रहेको संकेत दिएको देखिन्छ।
कंगना र तापसीबीचको वाकयुद्ध विगत केही वर्षदेखि सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालमार्फत पटक–पटक सतहमा आउने गरेको छ। पछिल्लो घटनाले उनीहरूबीचको पुरानो मौखिक विवादलाई फेरि चर्चामा ल्याएको छ।











प्रतिक्रिया