मानबहादुरको पाको उमेरमा युवा जोश

0
Shares

दोलखा । बैतेश्वर गाउँपालिका वडा नम्बर–६, नाम्दुका मानबहादुर तमाङ उमेरले ७१ वर्ष लागे । तर उनको जोश, मेहनत र प्रतिबद्धता हेर्दा भर्खर युवा अवस्था टेक्दै गर्दाको जस्तो छ । उनी मेहनत र पेसाप्रतिको प्रतिबद्धताले माटोमै सुन फलाउन सकिने विश्वास गर्छन् । भएको पनि त्यस्तै छ । उनले आफ्नै बारीमा ड्रागन फ्रुट खेती गरेर वार्षिक २० लाख बढी आम्दानी गर्न थालेका छन् ।

‘पहिलो वर्ष १० लाख आम्दानी भएको थियो’, मानबहहादुरले भने– ‘गत वर्ष १८ लाख आम्दानी भएको ड्रागन फ्रुट खेतीबाट यो वर्ष २० लाखभन्दा बढी आम्दानी हुने अनुमान छ ।’

मानबहादुरले शुरुमा चार सय बोटबाट ड्रागन फ्रुट खेती शुरु गरेका थिए । त्यसलाई बढाउँदै अहिले उनले १० रोपनी क्षेत्रफलमा ६ सय ५० बोट बनाएका छन् । ‘ड्रागन फ्रुटका सबै बोटबाट उत्पादन शुरु भएको छैन’, उनले भने– ‘सबै बोटले उत्पादन दिन थालेपछि वार्षिक आम्दानीमा पनि वृद्धि हुनेछ ।’

ड्रागन फ्रुटको बोटले वर्षमा पाँचपटकसम्म आम्दानी दिने मानबहादुरको भनाइ छ । यो वर्ष समयमै पानी परेको भए ३० देखि ४० लाख आम्दानी हुने अनुमान उनले गरेका थिए । तैपनि २० लाखभन्दा बढी आम्दानी हुने अनुमान गरेको छु’, उनले भने ।

पाको उमेरमा शुरु गरेको ड्रागन फ्रुट व्यवसायले मानबहादुरलाई आर्थिक तथा मानसिक रुपमा सन्तुष्ट बनाएको छ । उनी हरेक समय ड्रागन फ्रुटको बारीमा रमाउने गरेका छन् । उत्पादित ड्रागन फ्रुटको लागि बजारको समस्या नभएको उनको भनाइ छ । जिरी, चरिकोट, मैनापोखरी, नाम्दु, तामाकोशी लगायत स्थानीय बजारमै यसको माग धान्न नसकिएको उनी बताउँछन् ।

मानबहादुरलाई ड्रागन फ्रुट खेतीको लागि बैतेश्वर गाउँपालिकाले एउटा धारा सहयोग गरेको छ भने बागमती प्रदेश सरकारले घेराबारको लागि १० लाख सहयोग गरेको छ । सरकारले थप सहयोग गरिदिए ड्रागन फ्रुट खेतीलाई अझ विस्तार गर्ने मानबहादुर बताउँछन् । ‘मेरो कामबाट धेरै किसान उत्साहित भएका छन्’, उनले भने– ‘त्यसैले सरकारले सहयोग गर्नुपर्छ ।’