भलिबल खेलाडीको संघर्ष र सपनाको तनमनमा भलिबल


फिल्म बुकीमा समावेश तनमनमा भलिबल बोलको गीत सार्वजनिक गरिएको छ। विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको फिल्मको गीतले भलिबल खेलाडीको संघर्ष, समर्पण र देश चिनाउने सपनाको कथा बुनेको छ।

भलिबलकै विषयमा केन्द्रित भएर तयार पारिएको सम्भवतः यो पहिलो नेपाली गीत हो। मोहन केसीको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा प्रमोद खरेल र रचना रिमालले स्वर दिएका छन्। भलिबलका लागि आप्mनो सम्पूर्ण जीवन समर्पित गर्ने खेलाडीको कथा र भावनालाई गीतमा समेटिएको छ। भलिबल खेलेरै देश चिनाउने र आफू पनि चिनिने सपना बोकेका खेलाडीप्रति समर्पित गीतले खेलका लागि गरिने त्याग, तपस्या र निरन्तरको मेहनतलाई प्रस्तुत गरेको छ। यही कारण गीतलाई भलिबलको राष्ट्रिय गीतका रूपमा स्थापित गर्न सकिने सम्भावनासमेत देखिएको छ।

गीतको भिडियोले पनि यसको भावलाई थप प्रभावकारी बनाएको छ। राम्रो खेलाडी बन्न खेलाडीले गर्ने अभ्यास, प्रतियोगिताको माहोल, भलिबलप्रतिको आकर्षण र खेलप्रतिको समर्पणलाई भिडियोमा प्रस्तुत गरिएको छ। विशेषगरी हिमाली तथा उच्च पहाडी गाउ“मा भलिबलप्रति रहेको आकर्षण र त्यसले समुदायमा बनाएको सम्बन्धलाई भिडियोले देखाएको छ।

गीतको भिडियोमा गायक तथा अभिनेता देवेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन्। बाग्लुङको ढोरपाटन र आसपासका रमणीय क्षेत्रलाई भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्स्को ब्यानरमा लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापाद्वारा निर्मित फिल्ममा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन्। फिल्ममा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईंलगायतका कलाकारको पनि अभिनय रहेको छ। काठमाडौं, पोखरा तथा विशेषगरी बाग्लुङको ढोरपाटनलगायतका रमणीय क्षेत्रमा छाया“कन गरिएको फिल्ममा प्रकाश आले र राजन केसी कार्यकारी निर्माता, राजेश थापा र वसुन्धरा खरेल क्रिएटिभ प्रोड्युसर तथा जितु थापा र सुनील बुढाथोकी को–प्रोड्युसर रहेका छन्। फिल्ममा विकास गन्दर्भको डीओपी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।