किङ्स टी–१० इन्डोर क्रिकेटको सेमीफाइनल समीकरण पूरा


काठमाडौं ।

किङ्स क्रिकेट एकाडेमी, रोयल स्पोर्ट्स पार्क र त्रिकल्प इभेन्ट्सको संयुक्त आयोजनामा जारी ‘किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२’ को अन्तिम चारको समीकरण पूरा भएको छ । 

रोयल स्पोर्ट्स पार्कमा सम्पन्न रोमाञ्चक क्वार्टरफाइनल चरणका खेलहरूबाट जित निकाल्दै याङ्री बोइज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड ‘बी’ र पाङोलिन ट्राभल्स सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो क्वार्टरफाइनल प्रतिस्पर्धामा पाङोलिन ट्राभल्सले बाकयार्ड ‘ए’ लाई १७ रनले पराजित गर्दै अघिल्लो यात्रा तय गर्‍यो । पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ९७ रन जोडेको पाङोलिनका लागि रविले ३७ र सुमितले २८ रनको योगदान दिएका थिए, जसको जवाफमा बाकयार्ड ‘ए’ ले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो ।

दोस्रो क्वार्टरफाइनल खेलमा याङ्री बोइजले द क्यानन क्लबमाथि ३५ रनको फराकिलो जित दर्ता गर्‍यो। याङ्री बोइजले प्रस्तुत गरेको ७२ रनको लक्ष्य पछ्याएको द क्यानन क्लब ७ विकेटको क्षतिमा ३७ रनमै समेटियो; याङ्री बोइजका लागि कृशले ३९ रनको महत्त्वपूर्ण पारि खेलेका थिए । यस्तै, तेस्रो क्वार्टरफाइनलमा बाकयार्ड ‘बी’ ले मिक्समाण्डुलाई ३२ रनले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्‍यो। सक्षमको ६९ रनको उत्कृष्ट पारिको मद्दतले बाकयार्ड ‘बी’ ले ८७ रन बनाएको थियो, भने उत्तरमा मिक्समाण्डु ५६ रनमा रोकियो ।

अन्तिम क्वार्टरफाइनल भिडन्तमा आयोजक टोली रोयल स्पोर्ट्स पार्क ब्लुले टिम एन्टिबायोटिक्सलाई २६ रनले पछाडि पार्दै सेमिफाइनलको टिकट काट्यो । पहिले ब्याटिङ गर्दै ६२ रन बनाएको रोयल स्पोर्ट्स पार्क ब्लुले कसिलो बलिङ गर्दै टिम एन्टिबायोटिक्सलाई ३७ रनमै सीमित गरिदियो । यी जितहरूसँगै प्रतियोगिताको उपाधि होड थप प्रतिस्पर्धात्मक बनेको छ । प्रतियोगिताका दुवै सेमिफाइनल र फाइनल खेलहरू भदौ ८ गते सोमबारका दिन रोयल स्पोर्ट्स पार्कमा नै सञ्चालन हुने आयोजकले जनाएको छ ।