५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश


काठमाडौं ।

नेपाली अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनीका रूपमा स्थापित नाडा अटो शोको १८औँ संस्करण यसपटक प्रविधि, विद्युतीय सवारीसाधन र स्वदेशी उत्पादनमा केन्द्रित हुने भएको छ । नाडाको ५०औँ स्थापना वर्षको अवसर पारेर आयोजना गर्न लागिएको ‘नाडा अटो शो २०२६’ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदैछ ।

आयोजकका अनुसार प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनसम्बन्धी स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ ।

यस वर्षको अटो शोमा परम्परागत रूपमा सवारीसाधन प्रदर्शन गर्ने अवधारणाभन्दा अघि बढेर रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

नाडाका महासचिव मिलन बाबु मल्लले अटोमोबाइल उद्योग तीव्र प्रविधिगत परिवर्तनको चरणमा रहेकाले त्यसको झल्को प्रदर्शनीमा समेत देखाउन खोजिएको बताउनुभयो । उहाँका अनुसार पेट्रोल तथा डिजेलबाट विद्युतीय सवारीसाधनतर्फको संक्रमणसँगै एआई, कनेक्टिभिटी र अटोमेसन सवारीसाधनका महत्वपूर्ण पक्ष बन्दै गएका छन् ।

यसैअनुसार प्रदर्शनीमा ‘जीआई ह्युमनोइड’ र ‘जीओ–२ क्वाड्रपेड’ रोबोट प्रदर्शन गरिनेछ । त्यस्तै, प्रदर्शनीमा राखिएका सवारीसाधनमा उपलब्ध क्युआर कोड स्क्यान गरी एआई प्रविधिमार्फत सम्बन्धित गाडीका विशेषता तथा अन्य विवरण डिजिटल रूपमा हेर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

‘मेड इन नेपाल’लाई विशेष स्थान
१८औँ नाडा अटो शोको अर्को आकर्षण ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन बन्ने भएको छ । नाडा अटो शोको इतिहासमै पहिलोपटक छुट्टै प्याभिलियन निर्माण गरी नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ ।
प्याभिलियनमा नेपालमा उत्पादन भएका मोटरसाइकल तथा एसेम्बल गरिएका स्कुटर र बाइकसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट तथा स्पेयर पाट्र्सलगायत सामग्री राखिनेछ । आयोजकले स्वदेशी उत्पादनलाई छुट्टै स्थान दिनुको उद्देश्य नेपालमा अटोमोबाइल क्षेत्रमा उत्पादनको सम्भावना, रोजगारी सिर्जना र औद्योगिक विकासको अवसर उजागर गर्नु रहेको जनाएको छ ।

यस वर्षको अटो शोको मूल नारा ‘उद्योगदेखि रोजगारसम्म’ राखिएको छ । नाडाका अनुसार अटोमोबाइल क्षेत्रले कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत तथा समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान गर्दै आएको छ । यो क्षेत्र प्रत्यक्ष रूपमा करिब १ लाख र अप्रत्यक्ष रूपमा करिब १० लाख जनाको रोजगारीसँग जोडिएको नाडाको दाबी छ ।

ईभी र पूर्वाधारमा बहस
अटो शोमा विद्युतीय सवारीसाधनको उपस्थिति उल्लेख्य हुने आयोजकले जनाएको छ । विभिन्न ब्रान्डले नयाँ ईभी मोडल सार्वजनिक गर्ने तयारी गरेका छन् । स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीका विषयमा सिम्पोजियमसमेत आयोजना हुनेछ ।
ईभीको बजार विस्तारसँगै चार्जिङ पूर्वाधार, दक्ष प्राविधिक जनशक्ति, सर्भिस नेटवर्क र स्थिर नीतिको आवश्यकता पनि बढ्दै गएको नाडाको भनाइ छ । ईभीको बिक्री बढाउनु मात्र पर्याप्त नभई त्यसका लागि आवश्यक सम्पूर्ण इकोसिस्टम विकास गर्नुपर्नेमा आयोजकले जोड दिएको छ ।

दुई लाख आगन्तुक आउने अपेक्षा

छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब २ लाख आगन्तुक सहभागी हुने आयोजकको अपेक्षा छ । आगन्तुकको सहजताका लागि नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्कलगायत क्षेत्रमा पार्किङको व्यवस्था गरिनेछ ।

बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बस सञ्चालन गर्ने तयारी गरिएको छ । प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर सुविधा, आपत्कालीन स्वास्थ्य टोली तथा ट्राफिक सूचना डेस्कको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

आधिकारिक टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट बुक गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको सुविधा उपलब्ध हुने बताइएको छ । नाडाको ५०औँ स्थापना वर्षमा आयोजना हुन लागेको यस संस्करणलाई आयोजकले नयाँ सवारीसाधनको प्रदर्शनीसँगै नेपाली अटोमोबाइल उद्योगको वर्तमान अवस्था, प्रविधिगत परिवर्तन र आगामी दिशाबारे बहस गर्ने अवसरका रूपमा लिएको छ ।