असोजमा राइट टू प्रोटिन रन हुने

विजेताले डेढ लाख पाउने


काठमाडौं ।

नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (एनएफआइए) को आयोजनामा पोखरामा ‘राइट टु प्रोटिन रन २०२६’ आगामी असोज ३ गते आयोजना हुने भएको छ । शनिबार हुने उक्त दौडमा ४ हजारभन्दा बढी धावक सहभागी हुने आयोजकको अपेक्षा रहेको छ ।

प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रोटिन रनको मुख्य आकर्षण २१ किलोमिटरको हाफ म्याराथन हुनेछ ।

हाफ म्याराथन पुरुष र महिला दुवै विधाका विजेताले जनही १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, दोस्रो हुनेले १ लाख, तेस्रोले ५० हजार, चौथोले ३० हजार र पाँचौँ हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रोटिन रनमा हाफ म्याराथनसहित ८ विधामा प्रतिस्पर्धा हुनेछ। खुला पुरुष १० किलोमिटर, खुला महिला ५ किलोमिटर, कक्षा १२ सम्मका पुरुष ५ किलोमिटर, महिला ३ किलोमिटर तथा पुरुष र महिला ३ किलोमिटर ह्विलचेयर दौड सामेल छन् ।

आठै विधाका उत्कृष्ट ५ धावकलाई नगद पुरस्कार प्रदान गरिनेछ। आयोजकका अनुसार पुरस्कारतर्फ कुल १२ लाख ८० हजार रुपैयाँ वितरण हुनेछ भने २५ प्रतिशत करसमेत जोड्दा पुरस्कारको कुल रकम १६ लाख रुपैयाँ पुग्नेछ ।

दौड लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु भएर हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौरुक पुगेर पुनः सोही मार्ग हुँदै बसुन्धरा पार्कमै आएर सम्पन्न हुनेछ।

‘राइट टु प्रोटिन रन’ अभियान सन् २०१९ देखि सञ्चालन हुँदै आएको हो । पोषणसम्बन्धी छलफललाई सभा तथा सम्मेलनमा मात्र सीमित नराखी समुदायसम्म पु¥याउने उद्देश्यले दौड र खेलकुदमार्फत प्रोटिन तथा सन्तुलित पोषणको महत्वबारे सन्देश प्रवाह गर्दै आएको आयोजकले जनाएको छ ।

प्रोटिन रनमा नयाँ तथा उदीयमान धावकलाई अवसर प्रदान गर्नुका साथै उत्कृष्ट खेलाडी उत्पादन र पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।