उदयपुर ।
उदयपुरमा जल पर्यटन प्रवर्धन तथा साहसिक खेलको विकास गर्ने उद्देश्यले नेपाल ¥याफ्टिङ तथा क्यानोइङ संघको जिल्ला तदर्थ समिति गठन गरिएको छ । शुक्रबार गाईघाटमा आयोजित भेलाले दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा भूपालराज राउत, सचिवमा सञ्जीव राजभण्डारी, सह सचिवमा भानुनारायण श्रेष्ठ र कोषाध्यक्षमा तुलसा मिश्र चयन भएका छन् । सदस्यहरूमा नवराज राई, भीमबहादुर मगर, नारायणबहादुर राई, दिलीप साह, सुरेश चौधरी, सागर मगर, शर्मिला थापा र शान्तबहादुर माझी रहेका छन् ।

समिति गठन कार्यक्रममा नेपाल ¥याफ्टिङ तथा क्यानोइङ महासंघ कोशी प्रदेशका सचिव सुरेश बस्नेतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिए । उनले उदयपुरमा ¥याफ्टिङ र क्यानोइङ जस्ता साहसिक खेल तथा जल पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न समितिले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
‘कोशी प्रदेशको उदयपुर ¥याफ्टिङ र क्यानोइङजस्ता साहसिक खेलका लागि उच्च सम्भावना बोकेको जिल्ला हो । यसलाई साहसिक पर्यटकीय क्षेत्र बनाउन सक्नुहुन्छ भन्ने कामना गर्दछु । हामीबाट सकेको सहयोग हुनेछ,’ बस्नेतले भने ।

कार्यक्रममा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेबिट बस्नेत लगायतले नवनिर्वाचित समितिलाई शुभकामना दिँदै जिल्लाको पर्यटन विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
तदर्थ समितिको पहिलो बैठकले साहसिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजना अघि सारेको छ । अध्यक्ष श्रेष्ठका अनुसार त्रियुगा नगरपालिकाले एक वर्षअघि वडा नम्बर १४ र १५ भएर बग्ने सुनकोशी नदीको तटीय क्षेत्रका स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरेको आधारभूत ¥याफ्टिङ तालिमका सहभागीलाई थप दक्ष बनाउन एडभान्स तालिम प्रदान गर्ने निर्णय गरिएको छ ।
त्यस्तै,गाईघाटमा आगामी मंसिर १७देखि२७गतेसम्म आयोजना हुने तेस्रो प्रदेश महोत्सव– २०८३ मा ¥याफ्टिङ सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्लाका विभिन्न नदी तथा जलक्षेत्रमा ¥याफ्टिङ र क्यानोइङ सञ्चालनको सम्भाव्यता अध्ययन गरी नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्ने निर्णयसमेत बैठकले गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जिल्लामा रहेका जलस्रोतको पर्यटकीय उपयोग, स्थानीयलाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने र साहसिक पर्यटनमार्फत उदयपुरको पहिचान स्थापित गर्ने लक्ष्य समितिले लिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।








तपाईंको विचार लेख्नुहोस्