शौचालयबाट निस्कने फोहोर मोहरमा परिणत, बुटवल सेनिटरीद्धारा मानव मल र मूत्रको व्यवस्थापनबाट मासिक करिब १० टन जैविक मल उत्पादन


बुटवल। 

सहरी क्षेत्रमा फोहोर व्यवस्थापन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ । विशेषगरी शौचालयबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा वातावरण र जनस्वास्थ्यमा समेत जोखिम बढ्ने गरेको छ । तर, रुपन्देहीमा भने यही समस्यालाई अवसरमा बदल्ने प्रयास भइरहेको छ । बुटवल सेनिटरी प्रालिअन्तर्गत सञ्चालित नेपाल बायो कम्पोस्टले शौचालयबाट निस्कने फोहोर र गाईबस्तुको गोबरलाई प्रशोधन गरी जैविक मल उत्पादन गर्दै फोहोरलाई मोहरमा परिणत गदै आएको छ ।

 बुटवल र तिलोत्तमाको शौचालयजन्य फोहोर व्यवस्थापन गर्ने उद्देश्यले सुरु गरिएको यो परियोजनाले फोहोरको उचित व्यवस्थापनसँगै कृषि क्षेत्रमा उपयोगी जैविक मल उत्पादन गरिरहेको छ । घरघरका शौचालयबाट संकलन मानव मल मूत्रको फोहोरलाई गाईबस्तुको गोबरसँग मिसाएर विभिन्न प्रक्रियामार्फत प्रशोधन गरिन्छ । मेसिनको सहायताले फोहोरबाट डस्ट निकालिन्छ भने त्यसमा वनमारा, धुलो, पिना, हड्डीको धुलो, निम तथा सुर्तीको धुलो र प्रभावकारी सूक्ष्म जीवाणु अर्थात् ईएम मिसाइन्छ । त्यसपछि करिब ४५ दिनसम्म कुहाउने प्रक्रियाबाट जैविक मल तयार गर्ने गरेको कम्पनीका अध्यक्ष याम बहादुर  थापा मगरले बताउनु भयो । उत्पादित मललाई प्रयोगशालामा परीक्षण गरेपछि प्याकेजिङ गरी बजारमा पठाउने गरिएको छ ।

पछिल्लो एक वर्षदेखि कम्पनीले मासिक करिब १० टन जैविक मल उत्पादन गर्दै आएको छ । उत्पादित मल एक, पाँच र २५ किलोका प्याकेटमा बजारमा बिक्री वितरण भइरहेको छ । यसले रासायनिक मलको प्रयोग घटाउँदै जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस परियोजनाको अर्को महत्त्वपूर्ण पक्ष हो—दैनिक ठूलो परिमाणमा शौचालयजन्य फोहोरको व्यवस्थापन गदै आएको अध्यक्ष थापा मगरले बताउनु भयो  । रामनगर सामुदायिक वनसँगको सम्झौतापछि २०७८ सालदेखि सुरु गरिएको परियोजना ३ कठ्ठा क्षेत्रफलमा सञ्चालन भइरहेको छ । प्लान्ट निर्माणमा करिब तीन करोड रुपैयाँ लगानी भएको कम्पनीले जनाएको छ । सामुदायिक वनसँगको सम्झौताअनुसार मल बिक्रीबाट हुने नाफाको ५० प्रतिशत वनलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यो परियोजनाले फोहोर व्यवस्थापनसँगै वन संरक्षणमा समेत सहयोग पु¥याएको बताइएको छ । वन क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति नियन्त्रण हुनुका साथै फोहोरका कारण हुन सक्ने आगलागीको जोखिम न्यूनीकरणमा पनि सहयोग पुगेको छ । वन क्षेत्रमा उपलब्ध जैविक पदार्थलाई समेत मल उत्पादनमा उपयोग गरिएकाले फोहोरको पुनःप्रयोग र वातावरण संरक्षणलाई एकसाथ अघि बढाइएको अध्यक्ष मगरले बताउनु भयो ।

तर, सम्भावनायुक्त यो परियोजनाको दीर्घकालीन सञ्चालनमा नीतिगत तथा कानुनी जटिलता भने कायमै छन् । राष्ट्रिय वन क्षेत्रअन्तर्गत सञ्चालन भइरहेको परियोजनामा जग्गाको भोगाधिकार र व्यवस्थापनसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था नहुँदा भविष्यमा उद्योग सञ्चालनलाई निरन्तरता दिन चुनौती देखिएको छ ।स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने शौचालयजन्य फोहोरको काम निजी क्षेत्रले ठूलो लगानी र प्रयासमार्फत गरिरहेको अवस्थामा यस्ता उद्योगमा गरिएको लगानीको सुरक्षा गर्नु पर्नेमा उल्टै हटाउने पत्र आउनु दुखद भएका कम्पनीका अर्का सञ्चालक अशोक नेपालीको गुनासो रहेको छ । 

फोहोर व्यवस्थापनलाई खर्च र समस्याका रूपमा मात्र हेर्ने प्रवृत्तिका बीच बुटवलको नेपाल बायो कम्पोस्टले फोहोरबाटै उत्पादन र आम्दानी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । यस्ता प्रयासलाई राज्यले नीतिगत संरक्षण र प्रोत्साहन दिनुको सटृा अहिले डिभिजन बनकार्यालयको दबाबमा कम्पनीलाई पत्रकाटी तत्काल  संरचना हटाउन निर्देशन गरिएको छ । यस्तो नमुना कार्यलाई अनुदान दिएर भएपनि संरक्षण गर्नु पर्ने समयमा उल्टै हटाउने खेल खेल्नु भनेको वातावरण विरोधी कार्यलाई प्रश्रय प्रदान गर्नु हो । तसर्थ सरोकारवाला निकायको यस्तो सवालमा जिम्मेवारी बहन हुन जरुरी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।