लन्डन, (एजेन्सी) ।
यूरोपेली फुटबलका पाँच प्रतिष्ठित लिगमध्ये स्पेनी ला लिगा गत शनिबारदेखि सुरु भइसकेको छ । यही क्रममा यसै शनिबारदेखि इंग्लिस प्रिमियर लिग सुरु हुँदैंछ । शनिबार नै डिफेन्डिङ च्याम्पियन आर्सेनलको खेल रहेको छ । आर्सेनलले कोभेन्ट्रीको सामना गर्नेछ ।
पहिलो चरणमा ठूल्ठूला टोलीका लागि कठिन प्रतिद्वन्द्वीहरू सामुन्ने रहेका छैनन् । म्यानचेस्टर यूनाइटेडले हल सिटी प्रतिद्वन्द्वी पाएको छ भने म्यानचेस्टर सिटीले बर्नमाउथसँग खेल्नेछ । तर, लिभरपुललाई भने न्युक्यासलको चुनौती रहनेछ । चेल्सीले फुलह्यामसँग खेल्नेछ ।
यसपटकको प्रिमियर लिगमा उपाधि रक्षा गर्ने आर्सेनलको लक्ष्य रहेको छ । तर, आर्सेनलले नयाँ प्रशिक्षक अनुबन्ध गरेका लिभरपुल र म्यान्चेस्टर सिटी, ठूलो लगानी गरेको चेल्सी र म्यान्चेस्टर युनाइटेडको चुनौती पार गर्नु पर्ने हुन्छ । कोभेन्ट्री, हल सिटी र इप्सवीच टाउन नयाँ सिजनका लागि प्रिमियर लिगमा प्रोमोसन भएका टोलीहरू हुन् ।
प्रिमियर लिगमा नयाँ नियम
यसपटक प्रिमियर लिगको नयाँ सिजनमा नयाँ नियम लागू गरिँदैंछ । जसमा, खेलको समय खेर जाने क्रम घटाउन थ्रो–इन र गोल किक लिन पाँच सेकेन्डको सीमा लागू हुनेछ । समयसीमा नाघेर जानाजानी ढिलाइ गरे विपक्षीलाई थ्रो–इन वा गोल किकको अवस्थामा कर्नर दिइनेछ ।
खेलाडीलाई मैदानमा उपचार गरिएपछि कम्तीमा एक मिनेट बाहिर बस्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी प्रतिस्थापित खेलाडीले मैदान छाड्न १० सेकेन्डभित्र समय पाउनेछन् ।
समयमै ननिस्किए उनको स्थानमा आउने खेलाडी तत्काल मैदान प्रवेश गर्न पाउने छैनन् । दोस्रो पहेँलो कार्डबाट रातो कार्ड पाएको अवस्थामा पनि निश्चित परिस्थितिमा भीएआरले पुनरावलोकन गर्न सक्नेछ । यो हालै सम्पन्न विश्वकपमा लागू भइसकेका नियमहरू हुन् ।
भीएआरमा पनि पारदर्शीता बढाउने प्रयास हुँदैछ । अब प्रिमियर लिगले स्वतन्त्र ‘की म्याच इन्सिडेन्ट्स प्यानल’ का निर्णय सार्वजनिक गर्नेछ । महत्वपूर्ण घटनामा रेफ्री र भीएआर अधिकारीको प्रत्यक्ष उद्धरणसमेत सार्वजनिक गरिनेछ भने छनोट गरिएका खेलमा रेफ्रीको क्यामेराबाट रेकर्ड भएको अडियो पनि दर्शकले सुन्न पाउनेछन् ।











प्रतिक्रिया