एकतर्फी प्रेमको पारिजात


गायक तथा संगीतकार प्रकाश सिलवालको गीत पारिजात सार्वजनिक गरिएको छ। प्रेमिल भावको गीतमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन्। गीतको भिडियोमा एकतर्फी प्रेम र प्रेमका लागि आफूमा आउने परिवर्तनलाई प्रस्तुत गरिएको छ।

अस्मिता रुचालको शब्दमा तयार पारिएको गीतमा प्रकाश सिलवालकै स्वर र संगीत रहेको छ। सरल र मन छुने शैलीमा तयार गरिएको गीतको भिडियो प्रकाश सिलवालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा खुसी कार्कीप्रति आकर्षित भएका गौरव विष्ट उनको प्रेममा परेपछि आफूलाई परिवर्तन गर्दै गएको देखाइएको छ।

गायक सिलवालले प्रेमले मानिसमा पार्ने प्रभाव र ल्याउने परिवर्तनलाई गीतमार्फत प्रस्तुत गर्न खोजिएको बताए। उनले अडियोको भावअनुसार नै भिडियो तयार गरिएको जानकारी दिए। भिडियोमा गौरवले एकोहोरो प्रेम गर्ने प्रेमीको भूमिका निर्वाह गरेका छन्। आफ्नो प्रेमका लागि आफूलाई परिवर्तन गर्न सक्ने, प्रतीक्षा गर्न सक्ने र आफूले मन पराएको व्यक्तिको खुसीमै आप्mनो मन बुझाउन सक्ने पात्रका रूपमा गौरवलाई प्रस्तुत गरिएको छ।

घामपानी पिक्चर्स प्रोडक्सनको निर्माण रहेको भिडियोमा शान बस्न्यातले भिडियोको कथा तथा पटकथा तयार गरेका छन्। गौरव र खुसीस“गै सहयोग अधिकारी, विनोद पौडेल, गीताश्री, विशाल लामा चरी, युवक लामा घाइते, कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने र सुजाता तिमल्सिनालगायत कलाकारले अभिनय गरेका छन्। प्रणव केसीको निर्देशनमा तयार पारिएको भिडियोमा संगम राईको डीओपी, रहेको छ।