हलिउड अभिनेत्री हेडन पानेटियरको ३६ वर्षको उमेरमा निधन भएको छ। उनको मृत्युपछि गरिएको पोस्टमार्टम पूरा भए पनि मृत्युको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। ग्रिनभिल काउन्टी कोरोनर कार्यालयका अनुसार पोस्टमार्टममा उनको मृत्युमा योगदान पुर्याउने कुनै चोट वा बाहिरी आघातको संकेत भेटिएको छैन। मृत्युको कारण र प्रकृति पत्ता लगाउन थप परीक्षण भइरहेको छ।
अगस्ट १६ मा दक्षिण क्यारोलिनाको ग्रिनभिलस्थित एक अपार्टमेन्टमा उनी अचेत अवस्थामा भेटिएकी थिइन्। दिउँसो करिब १ः५१ बजे आपत्कालीन सेवामा फोन गरिएको थियो। घटनास्थल पुगेका स्वास्थ्यकर्मीले उनलाई बचाउन उन्नत हृदय पुनर्जीवन प्रक्रिया सुरु गरे पनि दिउँसो २ः३२ बजे उनलाई मृत घोषित गरिएको थियो। )
आपत्कालीन सेवामा गरिएको फोन कलमा ‘ओभरडोज’ र ‘कार्डियाक अरेस्ट’ जस्ता शब्द प्रयोग भएको रिपोर्ट सार्वजनिक भएका छन्। तर यीमध्ये कुनै पनि कुरा अहिलेसम्म उनको मृत्युको आधिकारिक कारणका रूपमा पुष्टि भएको छैन। कोरोनरको अन्तिम रिपोर्टका लागि थप अध्ययन र परीक्षणको नतिजा पर्खिइएको छ।
हेडन पानेटियर बाल कलाकारका रूपमा मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी थिइन्। पछि ‘हिरोज’ मा क्लेयर बेनेट र ‘न्यासभिल’ मा जुलियट बार्न्सको भूमिकाबाट उनी विश्वभर चर्चित बनिन्। उनले ‘स्क्रिम’ सिरिजलगायत विभिन्न फिल्ममा पनि अभिनय गरेकी थिइन्।
हेडनले आफ्नो जीवनमा मदिरा तथा लागूपदार्थको लतसँग संघर्ष गरेको विषय सार्वजनिक रूपमा बताएकी थिइन्। उनले सन् २०२६ मा प्रकाशित आफ्नो संस्मरण दिस इज मी : अ रेकनिङमा व्यक्तिगत संघर्ष र पुनःस्थापनाको यात्राबारे समेत लेखेकी थिइन्। तर उनको विगतको लतलाई हाल उनको मृत्युको कारणका रूपमा पुष्टि गरिएको छैन।











प्रतिक्रिया