टिभी अभिनेत्री अन्तरा बनर्जीलाई अगस्ट १२ मा अरावली एक्सप्रेसमा भएको कथित विवादपछि पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीका अनुसार उनी सुरतमा सुटिङका लागि यात्रा गरिरहेकी थिइन् र उनीसँग स्लीपर क्लासको टिकट थियो। तर उनी आरक्षित एसी कोचमा गएर सीटमा बसेपछि विवाद सुरु भएको बताइएको छ।
रेलवे प्रहरी (जीआरपी) का अनुसार सीट खाली गराउन आरपीएफ टोलीका एक अधिकारीले हस्तक्षेप गर्ने प्रयास गरेका थिए। त्यस क्रममा विवाद बढेको र अन्तराले आरपीएफ कर्मचारीसँग अभद्र व्यवहार गरेको आरोप छ। प्रहरीमा परेको उजुरीअनुसार उनले एक आरपीएफ कर्मचारीमाथि रेजर ब्लेडले समेत आक्रमण गरेको आरोप लगाइएको छ। घटनापछि रेलवे प्रहरीले अनुसन्धान थालेको थियो।
प्रहरीका अनुसार बोरीवली रेलवे प्रहरीले घटनाको भोलिपल्ट अन्तरा बनर्जीलाई हिरासतमा लिएको थियो। बोरीवली जीआरपीकी निरीक्षक कुन्दा गावडेका अनुसार प्रत्यक्षदर्शीहरूले अन्तरा एसी कोचको टिकट नपाएको विषयमा असन्तुष्ट रहेको बताएका थिए। प्रहरीका अनुसार उनले परिवार वा कानुनी सहयोग लिन अस्वीकार गर्दै आफूलाई गिरफ्तार गर्न आग्रह गरेकी थिइन्। एफआईआर दर्ता भएपछि भने उनी शान्त भएको प्रहरीको भनाइ छ। उनलाई केही समयका लागि हिरासतमा राखेर पछि रिहा गरिएको बताइएको छ।
३१ वर्षीया अन्तरा बनर्जीको जन्म कोलकातामा भएको हो। सन् २०१३ मा उनी आफ्ना अभिभावकसँगै मुम्बई आएकी थिइन् र अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनले ‘गुमराहः एन्ड अफ इनोसेन्स’ बाट टेलिभिजन यात्रा सुरु गरेकी थिइन्। त्यसपछि ‘सावधान इन्डिया’, ‘बढो बहू’ र ‘लाल इश्क’ लगायतका धारावाहिकमा देखिइन्। उनले ‘द शौकीन्स’ मार्फत बलिउडमा समेत पाइला राखेकी थिइन्।
अन्तराले एकता कपुरको चर्चित धारावाहिक ‘कसौटी जिन्दगी की’ मा सुमन शेखर शर्माको भूमिका निर्वाह गरेकी थिइन्। यसबाहेक उनी ‘कवच… महाशिवरात्रि’, ‘दिव्य दृष्टि’ र ‘रागिनी एमएमएस रिटर्न्स २’ मा पनि देखिएकी छन्। उनी कथक नृत्यमा समेत प्रशिक्षित रहेको बताइएको छ।











प्रतिक्रिया