लन्डन, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डोले यस सिजन अन्तिम हुने भन्दै सन्यासको संकेत गरेका छन् । ४१ वर्षीय पोर्चुगिज फुटबलरले भोगलाई दिएको अन्तर्वार्तामा बताए कि नयाँ सिजन २०२६–२७ खेलाडी करिअरको अन्तिम वर्ष हुनेछ । उनले सो अन्तर्वार्तामा बताए–’यो सम्भवतः फुटबलमा मेरो अन्तिम वर्ष हो र म शानदार विरासत छाड्न चाहन्छु ।
गत नोभेम्बरमा रोनाल्डोले आफू अझै एक वा दुई वर्ष खेल्ने बताएका थिए । साथै, २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने पनि पुष्टि गरेका थिए । विश्वकपमा स्पेनसँग पराजित हुँदै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएपछि भने उनले संन्यासको समयबारे स्पष्ट पारेका थिएनन् ।
उनले बताए–’मैले आफ्नो भविष्यका लागि सबै योजना बनाइसकेको छु । मलाई व्यस्त राख्ने धेरै कुरा छन् । फुटबल छाडेपछि खालीपन हुन सक्छ । त्यसैले समयलाई विभिन्न गतिविधिमा लगाउनुपर्छ । रमाइलो गर्नुपर्छ, यात्रा गर्नुपर्छ, प्याडेल हेर्न र खेल्नुपर्छ । हामीले कमाएको उपलब्धिको आनन्द लिनुपर्छ । आखिर यो २५ वर्षको यात्रामा धेरै त्याग गरिएको छ ।
रोनाल्डोको करिअर
रोनाल्डोले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट करिअर सुरु गरेका थिए । त्यसपछि इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए । उनी ला लिगा क्लब रियल मेड्रिड पुगेपछि भने उनको करिअरले उँचाई छोएको थियो । उनले यसै बेला ५ पटकसम्म बेलन डीअर उपाधि जितेका थिए । तर, यसपछि युभेन्टस हुँदैं उनी आश्चर्यजनक रूपमा सन् २०२३ मा साउदी प्रो लिगमा पुगे । उनी अहिले अल नासरबाट खेलिरहेका छन् र सम्झौताअनुसार सिजन २०२६–२७ उनको अन्तिम सिजन हो ।
रियलका लागि सर्वाधिक गोल
रोनाल्डोले क्लब स्तरीय करिअरमा सर्वाधिक गोल स्पेनी क्लब रियल मेड्रिडका लागि गरेका थिए । उनले ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए । यो क्लबको सर्वाधिक गोलकर्ताको कीर्तिमानसमेत हो । हाल उनका लागि करिअरको १ हजारौं गोलको कोसेढुंगामा पुग्न २४ गोलको आवश्यकता रहेको छ ।











प्रतिक्रिया