कमेडी एक्टमा आधारित रियालिटी शो सुपर कमेडी लिग आउने भएको छ। ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने शोको ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको होे।
हास्यव्यग्यमा आधारित यो रियालिटी शोमा ख्यातिप्राप्त अभिनेता राजेश हमालले लिग प्रेसिडेन्टको भूमिका निर्वाह गर्नेछन्। कलाकारहरू विल्सन विक्रम राई, सुरक्षा पन्त, लुनिभा तुलाधर र रवीन्द्र झा क्याप्टेन तथा मेन्टरका रूपमा रहनेछन्। कार्यक्रमका लागि ५ सहरमा अडिसन आयोजना गरिने भएको छ। दमकस्थित कदम थिएटर, नारायणगढस्थित राइनो वाटर होटल, नेपालगन्जस्थित सिद्धार्थ होटल, पोखरास्थित पोखरा थिएटर र काठमाडौंमा अडिसन गरिने आयोजकले जनाएका छन्। अडिसनबाट ३२ जना प्रतियोगी छनोट गरिनेछ। उनीहरूलाई ४ समूहमा विभाजन गरिनेछ भने प्रत्येक समूहमा ८ जना रहनेछन्। चार समूहको नेतृत्व चार क्याप्टेनले गर्नेछन्। इच्छुक प्रतिभाले डिजिटल अडिसनमार्फत पनि सहभागिता जनाउन सक्नेछन्।
समूहमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रममा एउटा स्क्रिप्टमा कम्तीमा २ तथा आवश्यकताअनुसार सोभन्दा बढी प्रतियोगीले संयुक्त रूपमा प्रस्तुति दिनेछन्। पूर्वनिर्धारित विषय तथा थिममा आधारित प्रस्तुतिहरू मुख्यतः स्केच, स्किट तथा ड्रामेडी (ड्रामा प्लस कमेडी) लगायतका शैलीमा तयार गरिनेछ। कार्यक्रमको उद्देश्य परम्परागत रूपमा कमेडियन खोज्नु मात्र नभई कमेडी एक्ट प्रस्तुत गर्न सक्ने उत्कृष्ट एक्टरको खोजी गर्नु रहेको निर्देशक एलिन श्रेष्ठले बताए।
कार्यक्रमको प्रसारण नेपालको राष्ट्रिय टेलिभिजनबाट हुनेछ भने डिजिटल प्रसारण ओएसआरमार्फत हुनेछ। निर्माण पक्षका अनुसार कार्यक्रमको नियमित प्रसारण भदौको अन्तिम सातादेखि हुनेछ। पारिवारिक मनोरञ्जनात्मक प्रकृतिको कार्यक्रममार्फत नेपाली दर्शकलाई नया“ शैलीको हास्य मनोरञ्जन प्रदान गर्ने विश्वास निर्देशक श्रेष्ठले व्यक्त गरेका छन्।











प्रतिक्रिया