बलिउड अभिनेत्री पूजा चोपडाले गरिन् पशुपतिनाथमा पूजा,आराधना


काठमाडौँ ।

बलिउड अभिनेत्री पूजा चोपडाले काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना तथा दर्शन गरेकी छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार अभिनेत्री चोपडाले २ हजार १ सय रुपैयाँको रसिद काटेर पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेकी हुन्।

कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमका अनुसार चोपडासहित आइतबार २३५ जनाले विशेष पूजाको रसिद काटेर मन्दिरमा पूजा तथा दर्शन गरेका छन्।

सौरमासअनुसार आज साउनको अन्तिम दिन भएकाले बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको उल्लेख्य भीड लागेको छ। सार्वजनिक बिदासमेत परेकाले साउनको अन्तिम दिन भगवान् पशुपतिनाथको दर्शन गर्न ठूलो संख्यामा भक्तजन मन्दिर पुगेका हुन्।

अभिनेत्री चोपडा पनि साउन महिनाको अवसर पारेर पशुपतिनाथको पूजा तथा दर्शनका लागि नेपाल आएकी हुन्।

यसअघि गत साता बलिउड अभिनेत्री शिल्पा सेट्टीले पनि पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना तथा दर्शन गरेकी थिइन्।