हिज्बुल्लाहका वरिष्ठ कमाण्डर मारिएको इजरायलको दाबी


काठमाडौँ ।

इजरायली सेनाले हिज्बुल्लाहको ‘बद्र युनिट’ का वरिष्ठ कमाण्डर अबु हसन अलालाई मारिएको दाबी गरेको छ।

इजरायली सेनाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उक्त कारबाही हिज्बुल्लाहले इजरायली सैनिकविरुद्ध गर्दै आएको गतिविधिको प्रतिक्रियास्वरूप गरिएको जनाएको छ।

सेनाका अनुसार हसन अला इजरायली सेनाविरुद्ध विभिन्न आक्रमणको योजना बनाउन तथा सञ्चालन गर्न संलग्न थिए। उनी दक्षिणी लेबनानमा रहेका इजरायली सेनालाई लक्षित गरी विस्फोटक पदार्थ बोकेका ड्रोन पठाउने गतिविधिमा समेत संलग्न रहेको इजरायली सेनाको दाबी छ।

लेबनानमा इजरायली आक्रमणको अरब लिगद्वारा निन्दा

यसैबीच, अरब लिगले लेबनानमा भएको इजरायली आक्रमणको निन्दा गरेको छ। अरब लिगका अनुसार पछिल्लो आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने यसबाट क्षेत्रीय तनाव थप खतरनाक रूपमा बढेको छ।

अरब लिगले यस्ता आक्रमणले द्वन्द्व अन्त्य गर्ने तथा समाधान खोज्ने प्रयासलाई थप जटिल बनाउन सक्ने जनाएको छ।

अरब लिगका प्रवक्ताले इजरायलको नीति र गतिविधिले द्वन्द्व लम्ब्याउने, वार्ताको प्रयासमा अवरोध सिर्जना गर्ने र जमिनमा नयाँ यथास्थिति कायम गर्ने प्रयास भइरहेको देखाएको बताएका छन्।

प्रवक्ताले यस्ता प्रयास पूर्ण रूपमा अस्वीकार्य र निन्दनीय रहेको बताएका छन्।