इजिप्टमा पेट्रोलियम पदार्थ बोकेको गाडीमा आगलागी, ३० जनाको मृत्यु


कायरो ।

इजिप्टको राजधानी कायरोमा पेट्रोलियम पदार्थ बोकेको गाडी पल्टिएर आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार कायरोको गिजा प्रान्तस्थित इम्बाबा जिल्लाको वराक क्षेत्रमा रिङरोडको सुरुङमाथि उक्त दुर्घटना भएको हो। पेट्रोलियम पदार्थ बोकेको गाडी अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर पल्टिएपछि आगलागी भएको थियो। आगो आसपासका अन्य सवारीसाधनमा समेत फैलिएको थियो।

इजिप्टको अभियोजन कार्यालयका अनुसार दुर्घटनामा २७ वटा सवारीसाधन जलेर नष्ट भएका छन्। आगो नियन्त्रणमा लिइसकिएको छ भने दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। मृतकको पहिचान खुलाउन शवबाट डीएनए नमुना संकलन गर्न पनि आदेश दिइएको छ।

उद्धार तथा उपचारका लागि घटनास्थलमा ३९ वटा एम्बुलेन्स परिचालन गरिएको थियो। घाइतेहरूलाई नजिकका अस्पतालमा लगेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दुर्घटनाप्रति राष्ट्रपति अब्देल फताह अल–सिसीले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री मुस्तफा मदबुलीले पनि शोक व्यक्त गर्दै घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने घोषणा गरेका छन्।

स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचार तथा घटनाको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरी निगरानी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।