काठमाडौ ।
भारतको बिहारमा आयोजित एक भव्य विवाह समारोह अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। विवाहमा बेहुला–बेहुलीको पहिरन, सजावट र सांस्कृतिक कार्यक्रमभन्दा पनि पाहुनाहरूले खाना र मिठाई लिन गरेको तँछाडमछाडले बढी ध्यान खिचेको छ। विशेषगरी रसबरी लिन लागेको भीडका भिडियो अहिले भाइरल भइरहेका छन्।
यो विवाह बिहारको मोकामा क्षेत्रका विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको हो। नोभेम्बर २५, २०२६ मा पटना जिल्लाको नदवान गाउँमा उनको विवाह समारोह आयोजना गरिएको थियो। विवाहमा ठूलो संख्यामा पाहुनालाई निमन्त्रणा गरिएको थियो।
विवाह भोजमा राखिएका ठूला–ठूला भाँडामा सेता, सुन्तला र कालो रङका रसबरी भरिएका थिए। पाहुनाहरू मिठाई लिन एकैपटक काउन्टरमा जम्मा भएपछि त्यहाँ निकै भीड देखिएको थियो। रसबरी लिन पाहुनाहरूको तँछाडमछाड भएको दृश्यले सामाजिक सञ्जालमा विशेष ध्यान खिचेको छ।
सार्वजनिक भिडियोमा पाहुनाहरू मिठाई लिन भीड लागेको र भाँडाबाट रसबरी निकाल्न हतार गरिरहेको देखिन्छ। कतिपयले यसलाई कहिल्यै नसकिने रसबरीको भोज भन्दै रमाइलो टिप्पणी गरेका छन्।
विवाहमा पाहुनाको भीड व्यवस्थापन गर्न आयोजकलाई कठिन भएको देखिन्छ। खाना खाने प्लेटसमेत अभाव भएपछि केही पाहुनाले पानी पिउने गिलास र कागजका कार्टुनमा खाना राखेर खाएको भिडियोसमेत सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार विवाहका लागि करिब २४ देखि ३० लाख रसबरी तयार पारिएको दाबी गरिएको छ। विवाहमा करिब चारदेखि पाँच लाख पाहुना सहभागी भएको अनुमानसमेत सार्वजनिक भएको छ। यद्यपि यी संख्या स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।
विवाह भोजका भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिएका छन्। कसैले यति ठूलो संख्यामा पाहुना बोलाउने आयोजकले खाना व्यवस्थापन पनि व्यवस्थित गर्नुपर्ने बताएका छन् भने कतिपयले रसबरीको दृश्यलाई रमाइलो भन्दै टिप्पणी गरेका छन।








तपाईंको विचार लेख्नुहोस्