कांग्रेस इतर समूहको भेलामा देउवाको पुनरागमन


काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा संस्थापन इतर समूहले आयोजना गरेको तीन दिने राष्ट्रिय भेलाको समापन कार्यक्रममा सहभागी भएका छन्।

भेलाको उद्घाटन सत्रमा सहभागी भएका देउवा शनिबारको कार्यक्रममा भने उपस्थित थिएनन्। आज समापनको दिन उनी पुनः कार्यक्रमस्थल पुगेका हुन्। निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले देउवा कार्यक्रममा सहभागी भएको जानकारी दिइन्।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नीतिगत सुधार र आगामी कार्यदिशाबारे छलफल गर्न आयोजित भेलामा देशभरका जिल्ला तथा क्षेत्रीय सभापति र भ्रातृ संगठनका प्रतिनिधिहरू सहभागी छन्।

भेलाबाट पारित समसामयिक प्रस्ताव तथा निष्कर्ष आज अपराह्न पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आयोजक पक्षले जनाएको छ।