बूढानिलकण्ठमा क्रिकेट एरेना एकेडेमी


काठमाडौं, (नेस) ।

काठमाडौँको बूढानिलकण्ठमा नयाँ क्रिकेट एकेडेमी क्रिकेट एरेनाको उद्घाटन भएको छ । बूढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले शनिबार एक कार्यक्रमकाबीच एकेडेमीको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।

’क्रिकेट एरेना ः स्कुल अफ क्रिकेट, स्कुल अफ चेस’ नाम रहेको एकेडेमीमा क्रिकेट र चेस दुई खेल सिकाईन्छ ।
बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ तल्लो भंगाल ओमनगर समाजमा अवस्थित रहेको क्रिकेट एरेना साढे ३ रोपनी क्षेत्रमा फैलिएको छ । जहाँ क्रिकेटको लागि दुई ईन्डोर नेट रहेको छ भने खुल्ला क्रिकेट मैदान पनि छ ।

मैदानमा स्ट्यान्डर्ड पिच समेत निर्माण गरिएको र एक टिममा ८ जना खेलाडी राखेर खेल्न मिल्ने सञ्चालक रुपक अर्यालले जानकारी दिए ।
पछिल्लो समय क्रिकेटमा धेरैको चासो रहेकोले ग्रासरुटदेखि क्रिकेटको विकासका लागि एकेडेमी सञ्चालन गरिएको अर्यालले बताए । ‘बच्चाहरुलाई खेल मात्र नभई मानसिक विकासको लागि क्रिकेट र चेसको लागि यो एकेडेमी सञ्चालनमा ल्याएका छौँ’ उनले भने ।
एकेडेमीमा हाल १० जनाले प्रशिक्षण लिईरहेको र ४० देखि ५० जनासम्मलाई प्रशिक्षण दिने लक्ष्य राखेको उनले बताए ।