सरिताको स्वरमा भिजायो फरिया बर्खैले


गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीको स्वरमा नया तीज गीत भिजायो फरिया बर्खैलेको भिडियो सार्वजनिक गरिएको छ। अविवाहित युवतीको भावना, प्रेम, उमंग तथा तीजको सांस्कृतिक माहोललाई समेटिएको गीत सरिताकै युट्युब च्यानल एसबी क्रिएसन नेपालमार्फत सार्वजनिक गरिएको हो।

तीजको मौलिक स्वादसगै युवापुस्ताको भावनालाई प्रस्तुत गर्ने प्रयास गरिएको गीतका शब्द, लय तथा संगीत पत्रकार एवं गीतकार सुमन पण्डितले तयार पारेका छन्। गीतमा मदन केसीको संगीत संयोजन, सुमन रानाको रेकर्डिङ तथा कुमार रानाको मिक्सिङ र मास्टरिङ रहेको छ।

गीतको भिडियोमा गायिका भारतीसगै ब्युटिसियन ट्यालेन्ट नेपाल विजेता चादनी श्रेष्ठ, ब्युटिसियन स्मृति सुब्बा, सोनी कारञ्जित, निरु श्रेष्ठ, बिना रानामगर, मनिष नेपाल तथा बाल कलाकार वामिका जयसवाललगायतको अभिनय छ। कलाकारहरूको प्रस्तुति, तीजको मौलिक परिवेश र नृत्यले भिडियोमा उत्सवको माहोल देखाएको छ।

भिडियोको छायांकन तथा सम्पादन ओमप्रसाद प्रसाईले गरेका छन्। एसबी क्रिएसनको निर्माणमा तयार भएको भिडियोमा सन्दीप भुजेलको कोरियोग्राफी, बद्री थापाको फोटोग्राफी र डब्बु क्षेत्रीको निर्देशन रहेको छ।

गायन क्षेत्रमा एक दशकदेखि सक्रिय सरिताको यो तेस्रो तीज गीत हो। यसअघि उनले रातो सारी लरक्कै र नाच्छ भने नाच्न दे तीज गीत सार्वजनिक गरिसकेकी छन्। यसपटकको गीतमा अविवाहित युवतीको मनोभाव, तीजको उमंग र वर्षामा भिजेको फरियालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको सरिताले बताइन्।