कांग्रेसमा समानान्तर शक्ति प्रदर्शन

देउवा फर्किएलगत्तै इतर पक्षको भेला


  • गगन नेतृत्वमाथि वैधानिकताको प्रश्न

काठमाडौँ ।

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब सामान्य असन्तुष्टिमा सीमित नरहने सङ्केत देखिएको छ । पार्टीका पूर्वसभापति शेरबहादुर देउवा लामो विदेश बसाइँपछि नेपाल फर्किएको भोलिपल्टै संस्थापनइतर पक्षले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेपछि कांग्रेसभित्र दुई धारबीचको शक्ति संघर्ष थप सतहमा आएको हो ।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति बनेपछि कांग्रेसमा देखिएको वैधानिकता र नेतृत्वको विवादले पछिल्लो समय नयाँ मोड लिएको छ ।

एकातिर थापा नेतृत्वको कांग्रेसले पार्टी संगठनलाई अघि बढाउने गतिविधि तीव्र पारिरहेको छ भने अर्कोतिर देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै वैधानिक मान्दै आएको छ ।

देउवा नेपाल फर्किएको भोलिपल्टै आयोजित इतर पक्षको भेलालाई यही शक्ति संघर्षको महत्वपूर्ण राजनीतिक सङ्केतका रूपमा हेरिएको छ ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले भेलामार्फत कांग्रेसलाई विभाजन होइन, एकताबद्ध बनाउने उद्देश्य रहेको बताउनुभयो । तर, उहाँको अभिव्यक्तिले समेत कांग्रेसभित्र देउवा पक्षप्रतिको समर्थन र गगन नेतृत्वप्रतिको असन्तुष्टि स्पष्ट रूपमा देखाएको छ ।
कोइरालाले देउवाको खुलेर प्रशंसा गर्दै बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको स्मरणसमेत गर्नु भएको थियो । ‘शेरबहादुरजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबहादुरजी हो । उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ,’ कोइरालाले भन्नुभयो ।
देउवा नेपाल फर्किँदा देखिएको स्वागत र कार्यकर्ताको उत्साहले समेत आफूलाई प्रभावित बनाएको उहाँको भनाइ थियो । कोइरालाको यो अभिव्यक्ति केवल सम्मानमा सीमित नभई कांग्रेसको आधिकारिक नेतृत्वबारे इतर पक्षको धारणा सार्वजनिक गर्ने राजनीतिक सन्देशका रूपमा समेत आएको छ ।

भेलामा नेता विमलेन्द्र निधिले गगन थापा नेतृत्वको कार्यसमितिको वैधानिकतामाथि नै प्रश्न उठाउनुभयो । उहाँले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै १५औँ महाधिवेशन गराउनुपर्ने दाबी गर्दै विशेष महाधिवेशनबाट बनेको थापा नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्ने अधिकार नभएको बताउनुभयो ।

निधिको भनाइले कांग्रेसभित्र अब विवाद केवल ‘को सभापति ?’ भन्ने प्रश्नमा मात्र सीमित नरहेको देखाएको छ । विवाद आगामी १५औँ महाधिवेशन कसले गराउने र त्यसको संगठनात्मक संरचना कसले नियन्त्रण गर्ने भन्ने निर्णायक चरणतर्फ अघि बढेको छ ।
उहाँले देउवा नै पार्टीको आधिकारिक सभापति भएको दाबी गर्दै विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई ‘अवैध’भन्दै त्यसले १५औँ महाधिवेशन गराउन नसक्ने बताउनुभयो ।

कांग्रेसभित्रको विवादलाई अझ कडा बनाउने गरी नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगको भूमिकामाथि समेत प्रश्न उठाउनुभएको छ ।
उहाँले निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएको आधिकारिकतामाथि असन्तुष्टि जनाउँदै त्यसलाई हतारमा गरिएको निर्णयको रूपमा चित्रित गर्नुभयो । ‘गगन भाइलाई सभापति भन्न मनै लागेको छैन,’ सिटौलाले भन्नुभयो ।

उहाँले विशेष महाधिवेशन पार्टी विधानअनुसार नभएको दाबी गर्दै व्यक्तिगत पूर्वाग्रहका कारण नभई विधानको प्रश्न भएकाले आफूहरूले विरोध गरेको स्पष्ट पार्नुभयो ।

सर्वोच्च अदालतबाट पुनरवलोकनका लागि बाटो खुलेपछि आफूहरूको आशा बढेको भन्दै सिटौलाले गल्ती सच्याएर कांग्रेसलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

नेता डा. प्रकाशशरण महतले भने कांग्रेस विभाजनको पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै अहिलेको विवादलाई एकताको माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान कांग्रेसको अवस्थालाई प्रतीकात्मक रूपमा व्याख्या गर्दै भन्नुभयो–‘आधिकारिकता अहिले जहाँ छ,त्यहाँ आत्मा छैन, शरीर मात्रै छ ।’

उहाँका अनुसार कांग्रेसको आत्मालाई बाहिर धकेलिएको अवस्था रहेकाले आत्मासहितको कांग्रेस निर्माण गर्नुपर्ने आवश्यकता छ । महतले सर्वोच्च अदालतमा पुनरवलोकनको प्रक्रिया अघि बढिरहेकाले अन्तिम निष्कर्ष नआएसम्म आफूहरू एकताको पक्षमा रहेको बताउनुभयो । तर, उहाँले १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुनुपर्ने अडानसमेत दोहो¥याउनुभयो ।

इतर पक्षको राष्ट्रिय भेलाले देउवा नेतृत्वको कांग्रेसलाई पुनः राजनीतिक रूपमा सक्रिय बनाउने सङ्केत गरिरहँदा गगन थापा नेतृत्वको कांग्रेस पनि संगठन विस्तार र पार्टी गतिविधिलाई गति दिने प्रयासमा छ ।

विशेष महाधिवेशनपछि थापा नेतृत्व पक्षले नयाँ संरचनालाई संस्थागत गर्ने, संगठनलाई सक्रिय बनाउने र आगामी राजनीतिक अभियानका लागि पार्टीलाई तयार पार्ने गतिविधिलाई प्राथमिकता दिँदै आएको छ ।

यसले कांग्रेसभित्र एउटै पार्टीका दुई धारबीच समानान्तर राजनीतिक गतिविधि बढ्ने सम्भावना बलियो बनाएको छ । एउटा पक्ष देउवालाई आधिकारिक सभापति मान्दै १४औँ महाधिवेशनबाट आएको संरचनाको निरन्तरताको पक्षमा छ भने अर्को पक्ष विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई वैधानिक आधारसहित अघि बढाउने प्रयासमा देखिन्छ ।
यहीकारण अहिले कांग्रेसको विवाद केवल नेताहरूबीचको मतभेद नभई संगठन, वैधानिकता, महाधिवेशन र पार्टीको भविष्यको नेतृत्वसँग जोडिएको संघर्ष बन्न पुगेको छ ।

संस्थापनइतर पक्षले आफ्नो भेलालाई कांग्रेस एकताका लागि आयोजना गरिएको बताएको छ । तर, देउवा नेपाल फर्किएलगत्तै काठमाडौँमा गरिएको ठूलो राजनीतिक जमघटलाई सामान्य संगठनात्मक बैठकका रूपमा मात्र हेर्न कठिन छ ।

भेलामा देउवालाई पार्टीको आधिकारिक सभापति घोषणा गर्ने शैलीमा अभिव्यक्ति आउनु, गगन नेतृत्वको कार्यसमितिको वैधानिकतामाथि लगातार प्रश्न उठाइनु र आगामी महाधिवेशनको नेतृत्वसमेत देउवाकै हातमा हुनुपर्ने धारणा सार्वजनिक हुनुले कांग्रेसभित्र शक्ति प्रदर्शनको अर्को चरण सुरु भएको छ ।

उता गगन पक्षले पनि आफ्नो नेतृत्वलाई स्थापित गर्दै संगठनलाई अघि बढाउने गतिविधि जारी राखेमा कांग्रेसभित्र दुई नेतृत्व, दुई संगठनात्मक धार र दुई राजनीतिक सन्देश समानान्तर रूपमा अघि बढ्ने जोखिम देखिएको छ ।

अब निर्णायक मोडमा महाधिवेशन
कांग्रेसभित्रको अहिलेको संघर्षको अन्तिम निकास अदालत, निर्वाचन आयोग वा नेताहरूको सार्वजनिक अभिव्यक्तिले मात्र निर्धारण गर्ने अवस्था देखिँदैन । यसको वास्तविक राजनीतिक परीक्षण आगामी महाधिवेशन र त्यसअघि हुने संगठनात्मक शक्ति परीक्षणमा हुनेछ ।
देउवा पक्ष आफ्नो पुरानो संगठनात्मक संरचना र नेतृत्वको वैधानिकता बचाउने रणनीतिमा देखिन्छ । गगन पक्ष भने विशेष महाधिवेशनबाट प्राप्त नेतृत्वलाई राजनीतिक रूपमा स्थापित गर्दै नयाँ पुस्ताको नेतृत्वलाई संस्थागत गर्ने प्रयासमा छ ।

त्यसैले काठमाडौँमा भएको राष्ट्रिय भेला कांग्रेसभित्रको एउटा बैठकभन्दा बढी दुई धारबीच बढ्दो शक्ति संघर्षको सार्वजनिक उद्घोष बनेको छ ।कांग्रेस नेताहरूले एकताको कुरा गरिरहेका छन् । तर, व्यवहारमा भने पार्टीभित्रका दुई धारबीच दूरी घट्नुको सट्टा बढ्दै गएको देखिन्छ । देउवाको नेपाल आगमनसँगै इतर पक्षको भेला र समानान्तर रूपमा गगन नेतृत्वको संगठनात्मक सक्रियताले कांग्रेस अब ‘एकता कि समानान्तर शक्ति’ भन्ने निर्णायक प्रश्नको मोडमा पुगेको सङ्केत गरेको छ ।


देउवाको सन्देश ,
इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्छ


नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीले आफ्नो इतिहासबाट पाठ सिक्दै वर्तमान राजनीतिक परिस्थितिको सही मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ । देश संवेदनशील मोडमा रहेको भन्दै उहाँले राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र जनतामा बढ्दो निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताउनुभयो ।

शुक्रवारदेखि काठमाडौँमा सुरु भएको नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले विगतका अनुभवबाट सिकेर पार्टीले आगामी राजनीतिक गन्तव्य तय गर्नुपर्ने धारणा राख्दै भन्नुभयो– ‘हामीले हाम्रो इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो पहिल्याउन सकिन्छ ।’

उहाँको भनाइ अहिले कांग्रेसभित्र नेतृत्व, वैधानिकता र पार्टीको आगामी दिशालाई लिएर तीव्र विवाद चलिरहेका बेला आएको हो । विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको दुई धारको विवादका बीच देउवाको यो अभिव्यक्तिलाई कांग्रेसलाई विगतका कमजोरीबाट सिकेर पुनः राजनीतिक रूपमा एकताबद्ध बनाउने सन्देशका रूपमा हेरिएको छ ।

देउवाले अहिले मुलुक संवेदनशील अवस्थामा रहेको भन्दै कांग्रेसका नेता–कार्यकर्ताले थप सजग भएर काम गर्नुपर्ने बताउनुभयो । लोकतन्त्रलाई बलियो बनाउने र राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी राजनीतिक दलका रूपमा कांग्रेसको प्राथमिकता हुनुपर्ने उहाँको भनाइ थियो ।

देउवाको यो सन्देश सार्वजनिक भइरहँदा कांग्रेस भने आफैँभित्रको विवादबाट गुज्रिरहेको छ । एकातिर देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व र कार्यसमितिलाई नै वैधानिक मान्दै आएको छ भने अर्कोतर्फ विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति बनेको दाबी गरिएको छ ।

संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी नेताहरूले पार्टीको वर्तमान नेतृत्व र विशेष महाधिवेशनबाट बनेको कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाइरहेका बेला देउवाले भने इतिहास, राष्ट्रिय एकता र लोकतन्त्रलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा राख्नु भएको छ ।

देउवाले समाजको निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए पनि त्यसका लागि पार्टी आफैँले आन्तरिक विवाद समाधान गर्नुपर्ने चुनौती छ ।

जनतामा बढ्दो राजनीतिक वितृष्णा र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणका बीच कांग्रेसले आफूलाई पुनः जनतासँग जोड्नुपर्ने अवस्था छ । त्यसका लागि केवल विगतको इतिहास सम्झाउनेभन्दा पनि वर्तमान समस्याको समाधान दिने ठोस राजनीतिक कार्यक्रम आवश्यक पर्ने देखिन्छ ।