चार दशक भनेको केवल समयको एउटा लामो कालखण्डमात्र होइन, पुस्ताहरू बदलिने, इतिहासका पानाहरू पल्टिने र कतिपय सपनाहरू खरानी बनेर उड्ने र कतिपय सपनाहरू अझ दृढ भएर ब्युँझिने एउटा महायात्रा हो । सन् १९८६ को ऐतिहासिक सोल एसियाडमा जब गंगाबहादुर डंगोलले कुवेत र फिलिपिन्सका हेभीवेट प्रतिस्पर्धीहरूलाई म्याटमा पछारेर नेपालको राष्ट्रिय झण्डा फहराएका थिए, तब नेपाली खेलकुदको आकासमा एउटा आशाको नयाँ सूर्य उदाएको थियो । तर, विडम्बना ! त्यसयताका प्रत्येक चार वर्षमा नेपाली जुडो टोली आफ्ना सपना, अठोट र असफलताका अनेकौँ कथाहरूको भारी बोकेर एसियाली खेलकुदको भव्य मञ्चमा उभिरह्यो, अनि रित्तो हात फर्कियो । ती ४० लामा वर्षहरूमा पदकको सुख्खा खडेरीले नेपाली जुडोको इतिहासलाई सधैँ प्यासी बनाएर राख्यो । आज, त्यही चार दशक लामो मौनता र सुस्केरालाई चिर्दै इतिहासको नयाँ अध्याय लेख्न ६ जना वीर योद्धाहरू त्रिपुरेश्वरको दशरथ रंगशालादेखि सातदोबाटोको प्रशिक्षण म्याटसम्म आफ्नो पसिनामात्र होइन, रगत, आत्मसम्मान र देशप्रतिको निःस्वार्थ समर्पण बगाइरहेका छन् ।
त्रिपुरेश्वरको जुडो प्रशिक्षण केन्द्रमा बिहानको पहिलो किरणले धर्तीलाई छुनुअघि नै सुरु हुने र साँझको धमिलो वातावरणसम्म निरन्तर गुञ्जिरहने बज्रिएका शरीरहरूको आवाज केवल एउटा खेलको सामान्य अभ्यासमात्र होइन, चार दशकको निराशा र उपेक्षाविरुद्ध छेडिएको एक भीषण हुंकार पनि हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसपटक सम्भावनाको स्पष्ट खाका देखेर जुडोलाई ‘मिसन–२०२६’ को प्राथमिकतामा राखेपछि बितेका १८ महिनादेखि योजनाबद्ध रूपमा टोलीले आफूलाई तिखारिरहेको छ । पुरुषतर्फ ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङ तथा महिलातर्फ ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि देविकामाया श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्दै छन् । यो टोली अनुभव र युवा ऊर्जाको अभूतपूर्व संगम हो । तेस्रोपटक एसियाली खेलकुदमा पाइला टेक्न लागेकी पुनम श्रेष्ठ र दोस्रोपटक उत्रिँदै गरेका विकास र देविका टोलीका बलिया स्तम्भ हुन् । करिब दुई वर्षको अन्तरालपछि पुनरागमन गरेकी पुनमको आँखामा आफ्नो क्षमता प्रमाणित गर्ने आगो बगिरहेको छ भने ओलम्पियन मनिता श्रेष्ठ प्रधान चोटका कारण बाहिरिनुपर्दाको पीडालाई शक्तिमा बदल्न बाँकी खेलाडीहरू तन्मयका साथ लागिपरेका छन् ।

प्राविधिक र विश्लेषणात्मक दृष्टिकोणबाट हेर्दा जुडोको यो यात्रा जति रोमाञ्चक छ, त्यति नै चुनौतीपूर्ण पनि छ । एसियाली खेलकुदमा विश्व च्याम्पियनदेखि एसियाका शक्तिशाली राष्ट्रहरूसम्मको दबदबा रहन्छ । जुडो यस्तो खेल हो जहाँ विशुद्ध शारीरिक बलभन्दा पनि प्राविधिक निपुणता र ‘ड्र’ अनुसार कुन पोलमा परिन्छ भन्ने कुराले पदकको समीकरणमा ठूलो भूमिका खेल्छ । यदि, नेपालले तुलनात्मक रूपमा अनुकूल पोल पाउन सक्यो भने लामो तयारीको प्रतिफल पदककै रूपमा आउने सम्भावना बलियो छ । टोलीलाई प्राविधिक रूपमा विश्वस्तरीय बनाउन जुडोको जननी मानिने जापानको प्रतिष्ठित टोकियो युनिभर्सिटीमा तीन हप्ताको विशेष वैदेशिक प्रशिक्षण गराई त्यहाँबाट सोझै आइची–नागोया लैजाने गृहकार्य भइरहेको छ । प्रशिक्षक मोहन सुनुवारको १८ महिने प्राविधिक आधार र हाल जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रञ्जितबाट प्रेरित एक्लै सिंगो टोलीको कमान्ड सम्हालिरहेकी महिला प्रशिक्षक सुनिता मगर ताम्राकारको अथक मिहिनेतले खेलाडीहरूमा प्राविधिक अनुशासन र रणनीतिक परिपक्वता भरेको छ ।
यद्यपि, यो आशाजनक यात्राको पछाडि नेपालको खेलकुद संरचनामा जेलिएका प्रशासनिक, नीतिगत र आर्थिक अधुरापनका तीता यथार्थहरू पनि लज्जास्पद रूपमा उघ्रिएका छन् । जुडोमा कुल १४ वटा तौल समूह भए पनि नेपालले यसपटक केवल ६ वटा कोटामात्र पाएको छ । जुन गत चीनमा भएको एसियाडभन्दा ८ कोटाले कम हो । थप केवल एक खेलाडीको कोटा प्राप्त भएको भए नेपालले ‘मिक्स टिम’ इभेन्टमा भाग लिन पाउँथ्यो, जसले नेपाली जुडोको अन्तर्राष्ट्रिय अनुभवलाई अर्कै उचाइमा पु¥याउने थियो । अझ गम्भीर कुरा त के छ भने,‘जब प¥यो राती अनि बुढो ताती’ भनेझैँ कम्तीमा छ महिना अघिदेखि निरन्तर हुनुपर्ने अन्तिम बन्द प्रशिक्षण प्रतियोगिता आउन करिब डेढ महिना बाँकी छँदा मात्र सुरु गरियो । दुई वर्षको अवधिमा नेपाली जुडो खेलाडीहरूले केवल दुईवटा अन्तर्राष्ट्रिय र तीनवटा घरेलु गरी जम्मा पाँचवटा म्याचको मात्र एक्सपोजर पाएका छन् । दुई महिना तालिम गराएपछि बजेट अभावको बहानामा १०–१५ दिन क्याम्प बन्द गर्ने र पुनः सुरु गर्ने गैरजिम्मेवार परिपाटीले खेलाडीहरूको ‘पर्फर्मेन्स ग्राफ’ तल खस्ने, सतर्कता नअपनाई गरिने खानपानले डोपिङको जोखिमसमेत बढ्ने गर्छ । त्यसमाथि वैदेशिक प्रशिक्षणका लागि ढिलासुस्ती र प्रशासनिक उल्झनले राज्यको खेलकुदप्रतिको उदासीनतालाई पुनः नांगो पारेको छ ।

तर, खेलकुद केवल कोटा, बजेट, र तथ्याङ्कको चिसो जोडघटाउमात्र होइन । इच्छाशक्ति, अदम्य साहस र देशप्रेमको अग्निपरीक्षा पनि हो । सीमित साधनस्रोत, वैदेशिक एक्सपोजरको कमी र नीतिगत भुलभुलैयाका बाबजुद पनि नेपाली जुडो टोलीले हार मानेको छैन । उनीहरूको आँखामा विगतका संस्करणमा प्राप्त एक–दुईवटा बाउट जितको दायरालाई तोडेर कम्तीमा तीन–चारवटा राष्ट्रका प्रतिस्पर्धीहरूलाई म्याटमा पछार्दै पोडियमसम्म पुग्ने सपना छ । सातदोबाटोको बन्द प्रशिक्षणमा हाल यातायात सहजताका लागि प्राप्त बसको सुविधा र एउटै वातावरणमा हुर्किरहेको यो टोलीभित्र जुन एकाग्रता र ‘गोर्खा स्प्रिट’ देखिन्छ, त्यसले जुनसुकै शक्तिलाई पनि चुनौती दिन सक्छ । ४० वर्षको लामो मौनता र इतिहासको पाना बदल्न अन्तिम तयारीमा रहेको नेपाली जुडो टोली आफ्नो पसिनाको प्रत्येक थोपालाई पदकको चमकमा रुपान्तरण र नागोयाको आकाशमा नेपालको राष्ट्रिय गान गुञ्जाउन आफ्नो अन्तिम सांससम्म लड्न पूर्ण रूपमा तयार देखिन्छ।











प्रतिक्रिया