हेटौँडा ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ११ः३० बजे हेटौँडा–१० बसपार्कमा मनहरी गाउँपालिका–१ मकरीका ३१ वर्षीय लक्ष्मण बर्तौलासहित अन्य व्यक्तिबीच गाडी पार्किङ गर्ने विषयमा विवाद भएको थियो। विवाद बढ्दै जाँदा धारिलो हतियार प्रहार भएको हो।
घटनामा मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोले, ओखलढुङ्गाको सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगर, चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रीन र राप्ती नगरपालिका–४ डडुवाका २८ वर्षीय जीवन तामाङ घाइते भएका छन्।
घाइतेमध्ये जीवन गोले र रामबहादुर पाख्रीनको अवस्था मध्यम रहेको छ भने राइज आले मगर र जीवन तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चारै जनाको हेटौँडामा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ।
घटना लगत्तै प्रहरीले खोजतलास तथा अनुसन्धान अघि बढाउँदै हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौँडा–१५ भोर्लेका २८ वर्षीय करण लामा र मनहरी गाउँपालिका–१ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौलालाई नियन्त्रणमा लिएको छ।
त्यस्तै, घटनामा संलग्न रहेको शंकाका आधारमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का ३७ वर्षीय लक्ष्मण विष्टलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजतलास भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया