धाैखाेला बाढीले सात घर विस्थापित, सडक अवरुद्ध 


धादिङ ।

अविरल वर्षापछि धादिङको धौखोलामा मध्यराति भीषण बाढी आएको छ। नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाको संगमस्थलमा रहेको धौखोलामा अचानक बाढीको बहाव बढेको हो।

बाढी खोला आसपासका बस्तीमा पसेको छ। खोला छेउका घरहरू डुबानमा परेका छन्। कम्तीमा सात घरपरिवार विस्थापित हुने जोखिममा छन्।

राति घरभित्रै बाढी पसेपछि स्थानीयवासी त्रसित भएका थिए। उनीहरू रातभर जाग्राम बसेका थिए।

स्थानीय गोपिनी मैनाली सिलवालका अनुसार शुक्रबार बिहान पानीको बहाव घटेको छ। अहिले खोला तर्न सक्ने अवस्था भए पनि रातिको बाढीले घरमा क्षति पुर्‍याएको छ।

‘फेरि जुनसुकै बेला बाढी आउन सक्छ भन्ने डर छ,’ उहाँले भन्नुभयो।

घटनाको जानकारी पाएपछि नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष प्रकाश श्रेष्ठ राति पौने १२ बजे नै घटनास्थल पुग्नुभएको थियो। उहाँले घटनास्थलबाटै बाढीको अवस्था र स्थानीयको जोखिमबारे जानकारी गराउनुभएको थियो।

बाढीले सडकमा समेत क्षति पुर्‍याएको छ। ससाह–मैदीभञ्ज्याङ–अमराई हुँदै गोरखाको दरबुङ जोड्ने सडक प्रभावित भएको छ। सडक क्षतिग्रस्त भएपछि आवतजावत राेकिएकाे छ ।

बाढीका कारण नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का गाेमा नहर्कि र चन्द्र सिलवालकाे घर घर परिवार विस्थापित भएका छन् भने ज्वालामुखी ४ धाैखाेलाका सुरेश श्रेष्ठ, लक्ष्मी दुवाडी, सिताराम खनाल घर बाढीले क्षति पुर्‍याएपछि विस्थापित भएका छन् ।

ढोला मण्डली दर्शन गर्न आउने भक्तजनका लागि बनाइएको पार्कमा समेत बाढीले क्षति पुर्‍याएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो।

बिहान पानीको बहाव केही घटेको छ। तर जोखिम भने कायमै छ। वर्षा फेरि बढेमा बाढी आउन सक्ने स्थानीयको भनाइ छ।

धौखोलामा पटक–पटक बाढीको समस्या दोहोरिँदै आएको स्थानीय बताउँछन्। दीर्घकालीन समाधानका लागि पहल नभएको उनीहरूको गुनासो छ।

वडाध्यक्ष श्रेष्ठले पनि स्थानीय तहबीचको सीमा देखाएर समस्या समाधानबाट पन्छिने प्रवृत्ति रहेको बताउनुभयो। उहाँका अनुसार ज्वालामुखी गाउँपालिकासँग सडक र बाढी नियन्त्रणबारे ध्यानाकर्षण गराउँदा ‘आफ्नो पालिकाको सडक नभएको’ भन्दै पन्छिने गरिएको छ।

बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न तत्काल पहल आवश्यक देखिएको छ। क्षतिग्रस्त सडक सञ्चालन र थप क्षति रोक्न पनि सम्बन्धित निकायले तत्काल काम गर्नुपर्ने अवस्था छ।